‘जिनियस म्युजिक अवार्ड २०७५’ का लागि आवेदन खुला

जिनियस म्युजिक प्रा. लि. ले स्थापनाको दशवर्ष पूरा भएको अवसर पारेर पहिलोपटक ‘जिनियस म्युजिक अवार्ड’ कार्यक्रमको आयोजना गर्ने भएको छ । दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाली गीत-सङ्गीतका लोकप्रिय श्रष्टा-कलाकारहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।

कम्पनीले एउटा प्रेस विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फारम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनीको आधिकारिक वेबसाइट  gmnepal.com मा गएर अनलाइनमार्फत पनि देशैभरिबाट आवेदन फारम भर्न सकिने जनाएको छ ।

कम्पनीका प्रवन्ध निनिर्देशक रमेश पाठकका अनुसार २०७५ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत-सङ्गीतलाई यस अवार्डमा सहभागी गराउन पाइने छ  । २०७६ साल जेठ ११ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड वितरण गरिने छ ।

पहिलोपटक आयोजना हुन लागेको यो अवार्डमा बिभिन्न ४१ विधामा सङ्गीतकर्मीहरुलाई पुरस्कृत गरिने छ । अवार्डमा राष्ट्रिय भावनाको गीत (सर्वोत्कृष्ट गीतकार, सङ्गीतकार, गायक तथा गायिका), चलचित्र गीत (सर्वोत्कृष्ट गीतकार, सङ्गीतकार, सङ्गीत संयोजक, गायक र गायिका), लोक तथा दोहोरी (सर्वोत्कृष्ट शब्द, लय, सङ्गीत संयोजक, गायक, गायिका, भिडियो छायाकार, भिडियो सम्पादक, निर्देशक, मोडल, नव मोडल) तामाङ गीत (सर्वोत्कृष्ट गीतकार, सङ्गीतकार, सङ्गीत संयोजक, गायक र गायिका), पप तथा आधुनिक (सर्वोत्कृष्ट गीतकार, सङ्गीतकार, सङ्गीत संयोजक, गायक, गायिका, युगल तथा समूह गायन, रेकर्डिष्ट, ध्वनि मुद्रण, नव गायक, नव गायिका, भिडियो छायाकार, भिडियो सम्पादक, निर्देशक, मोडल, नव मोडल), चाडपर्व विशेष गीत (सर्वोत्कृष्ट तीजगीत गायिका, तीजगीत नव गायिका, सर्वोत्कृष्ट दशैं गीत, सर्वोत्कृष्ट देउसी–भैलो गीत), सर्वोत्कृष्ट बालगीत, सर्वोत्कृष्ट म्युजिक कम्पनी तथा सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड विधामा सङ्गीतकर्मीहरुलाई पुरस्कृत गरिने छ ।

अवार्डमा सहभागिता जनाउनका लागि २०७६ साल बैशाख ६ गतेभित्र बुझाईएका फारमहरुलाई मात्र आधिकारिक मानिने समेत आयोजक संस्थाले जनाएको छ ।