‘मन मगन’ यात्रामा दीपक बज्राचार्यको क्रेज

‘मन मगन’ गीतको लोकप्रियता शनिबार भक्तपुरको सल्लाघारीमा देखिएको छ । ‘मन मगन भक्तपुर – २०७५’ शीर्षकको लाइभ कन्सर्टमा गायक दीपक बज्राचार्य र उनको साङ्गीतिक समूह ‘रिदम’ ले उपस्थित दर्शकहरुलाई नचाउन सफल भएको छ । कार्यक्रम रशलाइट मिडियाको आयोजनामा सम्पन्न भएको हो ।  करिव साढे दुई दशकदेखि नेपाली साङ्गीतिक  क्षेत्रमा सक्रिय गायक तथा सङ्गीतकार बज्राचार्यले कार्यक्रममा ‘काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीय, मन मगन’ सहितका गीतहरु प्रस्तुत गरेका थिए ।

‘मन मगन’ गायक बज्राचार्यको पछिल्लो समयको लोकप्रिय गीत हो । यो गीत तथा यसको भिडियो नेपालमात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमै रुचाइएको छ । शनिबारको कन्सर्टमा ‘मन मगन’ को प्रस्तुति भईरहँदा स्टेजमा परम्परागत झाँकीहरु पनि प्रस्तुत गरिएको  थियो ।

साङ्गीतिक कार्यक्रमको क्रममा आयोजक संस्थाले वर्ल्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जनलाई नगद राशीसहित सम्मान गरेको थियो । कार्यक्रममा बाल गायिका समीक्षा अधिकारीले पनि आफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन् । कार्यक्रममा डिजे तामाले आफ्नो  उत्कृष्ट प्रस्तुति मार्फत उपस्थित दर्शकहरुलाई नचाएका थिए ।

कार्यक्रममा बज्र डान्स मण्डलाले प्रस्तुत गर्ने कल्चरल डान्सले पनि दर्शकको मन जितेको थियो । कन्सर्टको क्रममा कोरियोग्राफर -मोडल रमिता भण्डारीको कोरियोग्राफीमा व्यावसायिक मोडलहरुले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गरेका थिए । फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाई प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।

कार्यक्रमको सह–आयोजकको रुपमा ‘तौडमाधी यूथ क्लब’ भक्तपुर र ‘राग रागिनी इभेन्ट’ रहेका थिए ।