आगामी चैत्र १ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरियो । चलचित्रमा देवको भूमिकामा रहेका मनिष श्रेष्ठ र मीराको भूमिकामा रहेकी निरिशा बस्नेत बीचको प्रेम सम्बन्धको उतारचढाब देखाईएको छ । यी दुबैजना कर्पोरेट व्यवसायमा छन् । उनीहरु पेशाकै क्रममा निटक भएको र त्यसपछि प्रेम सम्बन्धमा आएको उतारचढाबलाई चलचित्रको मुख्य कथावस्तु बनाईएको छ ।
चलचित्रमा चिरागको भूमिकामा रहेका सन्नी सिंह र मिराको भूमिकामा रहेकी निरिशाबीच प्रेम सम्बन्ध टुटेको र सो घटनाले मिराको जीवनलाई पीडायुक्त बनाएको कुरा सार्वजनिक गरिएको ट्रेलरमा समावेश गरिएको थियो । जुन सम्बन्ध तोड्न बर्षा बनेकी अभिनेत्री नम्रता श्रेष्ठको महत्वपूर्ण भूमिका ट्रेलरमा देखिन्छ । यस चलचित्रमा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी पनि विभिन्न भूमिकामा रहेका छन् । चलचित्र वसन्त अधिकारीको निर्देशनमा निर्माण भएको हो । अधिकारी यसअघि विभिन्न चलचित्रमा सहायक निर्देशकको रुपमा काम गर्दै आएका थिए ।
‘यस फिल्ममा कर्पोरेट स्तरको प्रेमलाई उठान गरिएको छ । सामिप्यराज तिमिल्सिनासँग सहकार्य गरी आठवर्ष लगाएर स्क्रिप्ट तयार गरिएको हो । यसमा हामीले धेरै मेहेनत गरेका छौं’ निर्देशक अधिकारीले भने । समारोहमा अभिनेत्री निरिशा बस्नेतले आफ्नो यो पहिलो चलचित्र भएको र निकै उत्साहित रहेको बताईन् भने अभिनेता मनीष श्रेष्ठले पनि चलचित्रबाट आफू धेरै आशावादी रहेको विचार राखेका थिए ।
आधुनिक प्रेम कथामा आधारित यो चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । ‘ड्रिम पछि यो मेरो सबैभन्दा उत्कृष्ट लभ स्टोरी फिल्म हो ‘ सामिप्यले बताए ।
रोशनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । निर्माता केसीले यसअघि ‘डाक्टर खाते’ को निर्माण गरेकी थिईन् । रोशनीको अतिरिक्त फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीको समेत लगानी रहेको छ । ‘चलचित्रबाट मनोरञ्जनसँगै दर्शकले सशक्त सन्देश पनि पाउने छन्’ निर्माता रोशनीले ट्रेलर रिलिज कार्यक्रममा बताईन् । अर्का निर्माता मोदनाथ खनालले आफू यो क्षेत्रका लागि नयाँ भएपनि एउटा समसामयिक र आदर्श प्रेमकथामा चलचित्र निर्माण भएको जानकारी गराउंदै यसले प्रेमको परिभाषालाई केही फरक रुपमा उठान गरेको कुरा बताए ।