‘अन्तर्राष्ट्रिय बाल साँस्कृतिक मेला-२०७५’ सम्पन्न

फागुन ३ गतेदेखि ९ गते सम्म काठमाडौंका बिभिन्न स्कुलहरुमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ‘बाल साँस्कृतिक मेला-२०७५’  International Children Folk Festival 2019-Nepal सम्पन्न भएको कुरा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ का अध्यक्ष आर. सी. कोईरालाले जानकारी गराएका छन् । प्राप्त जानकारी अनुसार लालीगुराँश नेशनल एकेडेमी मनमैजूमा एक भब्य समरोहबीच  गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले मेलाको उद्घाटन गरेका थिए । समरोहमा नेपालका पहिलो नृत्य निर्देशक भैरव बहादुर थापालाई सम्मान गरिएको थियो । उद्घटनपछि गृहमन्त्री ‘बादल’ ले नेपालको पहिलो नृत्य निर्देशक भैरव बहादुर थापालाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै नेपालमा अन्तर्राष्ट्रिय साँस्कृतिक पर्यटनको बिकासका लागि काम गरेकोमा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ लाई बधाईका साथै धन्यवाद दिएका थिए ।

मलेसिया, ताईवान र नेपालका विद्यार्थीहरुले भाग लिएको सो अन्तर्राष्ट्रिय बाल साँस्कृतिक मेला फागुन ४ गते लालीगुराँश नेशनल एकेडेमी मनमैजू, ७ गते बागमती बोर्डिङ स्कुल सुकेधारा, ७ गते नै लोयल्टी एकेडेमी मन्डिखाटार र ८ गते ओडिसी इन्टरनेशनल एकेडेमीमा आयोजना गरिएको थियो ।

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले मेलाको लागि अन्तर्राष्ट्रिय समूहलाई नेपाल बोलाएको थियो भने लालीगुराँश नेशनल एकेडेमी मनमैजू, बागमती बोर्डिङ स्कुल सुकेधारा, लोयल्टी एकेडेमी मन्डिखाटार र ओडिसी इन्टरनेशनल एकेडेमी मेलाको आयोजक रहेका थिए ।

मेला अवधीभर अन्तर्राष्ट्रिय बालबालिकाहरुले बिभिन्न स्कुलका विद्यार्थीहरुसँग आफ्नो कला प्रस्तुतिसंगै पठनपाठनका बिषयमा पनि अन्तरक्रिया गरेका थिए । बालबालिकाहरुले पाटन र वसन्तपुर दरबार क्षेत्रका साथै बौद्धनाथ पनि अवलोकन गरेका थिए । उनीहरुले नेपालीहरु साह्रै मिलनसार र हँसिला भएको प्रतिकृया दिदै ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले आयोजना गर्ने १०औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७६’ मा पुन: नेपाल आउने र काठमाडौं बाहिरका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरुको  पनि अवलोकन गर्न मन भएको बताएका थिए ।