दुई गीतकारको संयुक्त रचनामा प्रेम मनोविज्ञानमा आधारित गीत

संयुक्तराज्य अमेरिकाको नर्थ क्यारोलाईना निवासी दुई नेपाली प्रतिभा डा. चन्द्र गिरी र डा. ऋषि बस्ताकोटीको संयुक्त रचनाको आधुनिक गीत ‘तिमी सुन न, तिमी बुझ न’ को फोटो भिडियो भरखरै युट्युबबाट रिलिज भएको छ l दुबै गीतकार अमेरिकाको उच्च सरकारी ओहदामा कार्यरत वातावरणविद् हुन् l जुन ओहदामा नेपालीहरु विरलै पुग्ने गरेका छन् l १ हप्ता अगाडि सार्वजनिक भएको यो भिडियो १७ हजार भन्दा केही बढी दर्शकले हेरिसकेका छन् l 

खेम विश्वकर्माको सङ्गीत र पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको यस गीतमा लोकप्रिय गायिका मेलिना राईले स्वर दिएकी छिन् भने गीत काठमाण्डौको अनामनगरस्थित मेलोडी नेपाल नामक स्टुडियोमा रेकर्ड भएको हो l काठमाण्डौमै भिडियोको छायाङ्कन तयारी भईरहेको यो गीत केही समयपछि पुरुष भर्सनमा समेत रेकर्ड गरिने कुरा गीतकारद्वयले जानकारी गराएका छन् l यसअघि गैरे सुरेशको सङ्गीत र निशा देशारको स्वरमा गीतकार डा. बस्ताकोटीको रचनामा ‘चेरी फुल्दा परदेशमा’ बोलको गजल रेकर्ड भईसकेको थियो भने डा. गिरीको यो पहिलो रचना हो l ‘चेरी फुल्दा’ को पनि युट्युबबाट फोटो भिडियो अपलोड गरिएको छ l
गीतमा एकतर्फी प्रेममा छट्पटाएकी युवतीको पीडा, विचलित मन र आफ्नो प्रेम बुझिदिन प्रेमीलाई गरिएको शालीन आग्रह व्यक्त भएका छन् l ‘समाजमा देखे – भोगेका अव्यक्त प्रेममा आधारित गीत लेख्ने सल्लाह भयो l पहिला डा. गिरीले केही पङ्क्ति लेख्नुभयो l त्यसमा मैले केही थपथाप गरें l त्यसपछि पटक पटकको बसाईमा परिमार्जन गरेर गीतलाई पूर्णता दिईएको हो’ डा. बस्ताकोटीले संयुक्त रचना कसरी तयार भयो भन्ने बारेमा जानकारी गराए l

दुई गीतकार मध्येका एक डा. चन्द्र गिरी भन्छन्- ‘गीतमा प्रेम मनोविज्ञानको गहिरो भाव छ l जीवन यात्राका क्रममा हामी सबैले कुनै न कुनै मोडमा आफैंले देखे – भोगेको प्रेम प्रसङ्ग गीतमा समेटिएको छ l’ गीतका बारेमा अझ प्रष्ट पार्दै उनले भने- ‘कसैलाई भित्रभित्रै मन पराउनु, मन पराएको मान्छेले त्यो कुरा नबुझ्नु र आफूले पनि भन्न नसक्नु अनि त्यही परिस्थितिबाट मनमा उत्पन्न हुने पीडा र छट्पटी नै गीतको मूल मर्म हो l’

गीतको भाव अनुसार मीठो सङ्गीत र सङ्गीतपरक स्वर रहेकोले  गीतले श्रोताको मन जित्ने कुरामा आफूहरु विश्वस्त रहेको गीतकारद्वय डा. चन्द्र गिरी र डा ऋषि बस्ताकोटीले बताएका छन् l

video link