फागुन ९ मा ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या २०७५’ को आयोजना हुने

साँस्कृतिक संस्थान { राष्ट्रिय नाचघर } र जनता टेलिभिजनको संयुक्त आयोजनामा ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या २०७५’ को आयोजना हुने भएको छ l रु. १ हजार, ५ सय र २ सय टिकट दर कायम गरिएको यो कार्यक्रम आगामी फागुन ९ गते साँझ साँस्कृतिक संस्थानको मेघा हलमा आयोजना हुने छ l राजेश थापा संस्थानको महाप्रवन्धक भएयता संस्थानमा अपूर्व आन्तरिक गतिविधि बढेको छ भने विभिन्न विधाका वरिष्ठ एवं कनिष्ठ सर्जक – कलाकारलाई हौसला र अवसर दिनका लागि समेत संस्थानले एकल आयोजक र सहआयोजकको रुपमा कार्यक्रमहरु गर्दै आएको छ l कला र कलाकारहरुप्रति यति समर्पित र आफ्नो दायित्वप्रति यति जिम्मेवार महाप्रवन्धक संस्थानले पहिलोपटक पाएको हो l

२०३० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी सङ्गीतमा अनवरत क्रियाशील रहँदै आएका प्यासी गायकका रुपमा जति लोकप्रिय छन् उनका सङ्गीतका गीत पनि श्रोताले त्यत्तिकै मन पराएका छन् l ४० को दशकतिर राजधानीका होटल-रेष्टुरेन्टहरुमा अत्यन्तै लोकप्रिय रहेको रात्रिकालीन गजलगायनमा उच्च ख्याती कमाएका प्यासी विगतका केहीबर्ष युकेका रेष्टुरेन्टहरुमा समेत व्यस्त रहेका थिए l हिन्दी फिल्मी, गजल, सुफी लगायत नेपाली गजल तथा आधुनिक गीत गायनमा विशिष्ठ पहिचान स्थापित गरेका गायक नरेन्द्र प्यासी केहीबर्ष यता सपरिवार अमेरिका बस्दै आएका छन् l उनले सबै विधाका गीतमा स्वर दिएका छन् l अमेरिकालाई कर्मथलो बनाएका भएपनि नेपाल आउने – जाने क्रमले गर्दा सङ्गीत बजारमा उनको अभाव भने खड्किएको छैन l उनका गीत निरन्तर रिलिज भई नै रहेका छन् l

प्यासीका ‘के भुल भयो र प्रिया, तिमी बिनाको जीवन, तिम्रो दिलमा चोट लाग्दा, चोट बराबरी, एकैपल पनि बाँच्न गारो भो, जाम् क्यारे उडेर, फूलको दिलमा पनि, म त तिम्रो मान्छे बन्न, सुने खबर जीवनसाथी, तिमीले दिने माया, काठमाण्डौ छुट्यो हेर्दा हेर्दै, कसरी जुट्यौं कसरी छुट्यौं’ लगायतका गीत लोकप्रिय छन् l यसअघि  बि. स. २०४१ मा नेपालमा र सन् २००५ मा एकल गायन प्रस्तुत गरिसकेका प्यासीको यो तेस्रो एकलगायन साँझ हो l