रोमान्ससँगै नाम र दाम, व्यावसायिक मोडलिङमा सुरेन्द्र

अभिनयको क्षेत्रमा सबैभन्दा छिटो दर्शकमाझ पुग्ने, छिट्टो नतिजा आउने, थोरै समयमा आकर्षक पारिश्रमिक पाइने र रोमान्ससँगै नाम र दाम दुबै हुने लोभलाग्दो कुनै काम छ भने त्यो भिडियो मोडलिङ नै हो l हुन त सानो पर्दाका प्रायजसो कलाकारहरुले एकदिन ठूलो पर्दासम्म पुग्ने सपना देखेका हुन्छन् र म्युजिक भिडियो हुँदै ठूलो पर्दामा प्रवेश गर्ने कलाकारहरु अनगिन्ति छन् पनि l तर म्युजिक भिडियोका कलाकार पनि ठूलो पर्दाका कलाकार भन्दा कम लोकप्रिय हुँदैनन् र बजारका प्रायोजित हल्लाको पछि नलाग्ने हो भने उनीहरुको कमाई ठूलो फिल्मका कलाकारको भन्दा बढी नै हुने गरेको छ l

सङ्घर्षका सुरुआती दिनमा डान्सिङ भिडियोहरुमा ग्रुपमा मात्र देखिने एस. के. दाहाल अर्थात् सुरेन्द्र कुमार दाहाल अहिले मुख्य भूमिकामा लोकप्रिय छन् l यो उनको मेहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताको प्रतिफल हो l नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएका छन् l

बि. स. २०४२ मा काभ्रे जिल्ला मेथिन्को गाबिस ४ मा  पिता रेशम बहादुर दाहाल र माता भवानी दाहालको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मेका सुरेन्द्र बाल्यकालदेखि नै नृत्य तथा अभिनयमा औधी रुची राख्थे l आफ्नो रुचीमा पारिवारिक सहयोग समेत प्राप्त भएकोले यो यात्रा आज सफलताको सुखद् विन्दुसम्म आइपुगेको कुरा उनी बताउँछन् l  हालसम्म सयभन्दा बढी चलचित्रका गीत र  करिव ३ सय लोक तथा दोहोरी गीतका भिडियोमा सामूहिक नृत्य  गरेको छु भने करिव १ सय ५० जति म्युजिक भिडियोमा मुख्य मोडलको रुपमा अभिनय गरेको छु’ उनी भन्छन् । रन्जिता गुरुङको जोडी भएर पहिलोपटक उनले मुख्य भूमिका निभाएको भिडियो ‘जूनमा पनि दाग छ’ हिट भएपछि उनको म्युजिक भिडियोको यात्राले रातारात ‘यु टर्न’ लिएको थियो l अर्थात ‘ग्रुप डान्सर’ बाट उनको माग मुख्य मोडलको रुपमा बढेको थियो l उनले मोडलिङ गरेका ‘जूनमा पनि दाग छ, बाचा कसम खा’को, पल पल झल्को, सिरु फुल्यो सेतै’ लगायतका गीतका भिडियो हिट लिष्टमा छन् l जसको कदर स्वरूप विभिन्न समयमा आयोजित समारोहहरुमा उनले अवार्ड, सम्मान र पुरस्कार समेत प्राप्त गरेका छन् l

म्युजिक भिडियोको क्षेत्रमा उच्च ख्याती कमाएका रन्जिता गुरुङ, सोनिया के सी., करिश्मा ढकाल, अन्जु निरौला, अन्जली अधिकारी लगायतका कलाकारसँग सहकार्य गरिसकेका बहु प्रतिभाका धनी सुरेन्द्रले हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘रातो पिरो’, ‘गोलामाल’, लगयत आधा दर्जन भन्दा बढी सिरियलहरुमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । कलाकारका अतिरिक्त उनी एक व्यवसायी पनि हुन् । अतिरिक्त पेशा जे गरेपनि अनि जहाँ रहेपनि अभिनय, नृत्य र भिडियो मोडलिङलाई निरन्तरता दिईरहने उनी बताउँछन् । प्रसंशा भन्दा प्रेरणालाई ठूलो ठान्ने सुरेन्द्र प्रेरक व्यक्तिहरुकै कारण आफू आज यो ठाउँमा पुगेको बताउँछन् ।