मेधावी बालिका गीत ८ बर्षको उमेरमै कथाकार, अतिरिक्त क्रियाकलापमा पनि अब्बल

गीत पछाई ढकाल यतिबेला नेपालकै सबैभन्दा कम उमेरकी कथाकारको रुपमा चर्चामा छिन् l उनले ८ बर्षको उमेरमा लेखेको बालकथाको पुस्तक The Treasure Hunt ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको छ l रङ्गीन चित्र सहित प्रकाशित २६ पृष्ठको सो पुस्तकमा २२ कथा रहेका छन् l २२ वटै कथा नेपाली र अंग्रेजी दुबै भाषामा छन् l अक्षरा स्कूल, काँडाघारीमा कक्षा ३ मा अध्ययनरत गीत पछाई ढकाल गायक तथा सङ्गीतकार विनोद पछाई र गीतकार एवं संचारकर्मी जानुका ढकालकी छोरी हुन् l ‘मलाई बाबा र मामुको बराबरी माया लाग्छ l त्यसैले मेरो नामको पछाडि पछाई ढकाल लेख्ने गरेकी हुँ ‘ गीत भन्छिन् l
पढाईमा मेधावी छात्रा गीत नेपाली भन्दा अंग्रेजी बोल्न र लेख्न सहज महसुस गर्छिन् l उनले २२ वटै कथा अंग्रेजीमै लेखेकी हुन् l सबै बालबालिकालाई पढ्न सहज होस् भनेर पछि नेपालीमा पनि अनुवाद गरिएको हो l १०० रुपैया मूल्य राखिएको सो पुस्तकमा देवेन्द्र ठुम्कलीका चित्र रहेका छन् l उनको पुस्तक विभिन्न स्कूलले किनेर आफ्नो लाईब्रेरीमा राखेका छन् l अहिलेसम्म गीत रेकर्ड नगरेको भएपनि उनी गायनमा रुची राख्छिन् l गीतले केही म्युजिक भिडियोमा बाल कलाकारको रुपमा अभिनय गरेकी छिन् l

गीत केही महिना अघि बाबा मामुको साथमा अष्ट्रेलिया गएकी थिईन् l लगभग १ महिनासम्म अष्ट्रेलियाको भ्रमण गरेकी गीतले त्यहाँ रहँदा विभिन्न स्कुलका बालबालिकाहरुसँग परिचय गर्ने मौका पाईन् l उनले त्यहाँ आफ्नो देशको बारेमा पनि बोलेकी थिईन् भने ‘यति सानो उमेरमै कथा कसरी लेख्यौ ?’ भन्ने समकक्षीहरुको जिज्ञासाको पनि उनले कत्तिपनि नहिच्किचाई उत्तर दिएकी थिईन् l सानो उमेरमा कथा लेखेकोमा सबै चकित परेको र छुट्टिने बेलामा आफ्नो उमेरका साथीहरु र शिक्षकहरुले समेत ‘अर्कोपटक आउँदा अर्को किताब ल्याउनु है’ भनेको कुरा उनी सुनाउँछिन् l उनी अहिले अर्को किताबको तयारीमा समेत लागिरहेकी छिन् l अस्ट्रेलियाको एक स्कूलको लाईब्रेरीलाई दिईएको पुस्तक वापत उनलाई स्कूलले १०० डलर दिएको थियो l परोपकारमा समेत उत्तिकै रुची राख्ने गीतले सो रकम गुल्मी जिल्लाका माझी बालबालिकाहरुको शिक्षाको लागि हस्तान्तरण गरेकी छिन् l अष्ट्रेलियामा पौडी प्रतियोगितामा समेत भाग लिएकी गीत आफ्नो उमेर समूहमा द्वित्तीय समेत भएकी थिईन् l जुन कुरा एउटा गौरवको विषय समेत हो l अष्ट्रेलिया भ्रमणबाट फर्किएपछि उनले लेखेको संस्मरण पत्र पत्रिकामा समेत प्रकाशित भएको थियो l

‘सुरुमा एउटा कथा लेखेर बाबा मामुलाई देखाएँ l उहाँहरु दुबै खुशी हुनुभयो र धेरै लेख्यौ भने किताब निकालौंला, अझै लेख भन्नुभयो l त्यसपछि मैले अरु कथा पनि लेखें र किताब निस्क्यो’ गीतले किताब कसरी तयार भयो भन्ने बारेमा जानकारी गराईन् l