‘सङ्गीत रोयल्टी’ को अध्यक्षमा महेश खड्का निर्वाचित, बि. पाण्डे भारी मतान्तरले पराजित, अध्यक्ष बाहेकका सबै निर्विरोध

सङ्गीत रोयल्टी सङ्कलन र वितरणका लागि स्थापित ३ वटा संस्था मध्ये सबैभन्दा जेठो संस्था ‘सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल’ को ११ औं साधारण सभाले लोकप्रिय सङ्गीतकार महेश खड्कालाई नयाँ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ l माघ २५ र २६ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा दुई दिनसम्म चलेको साधारण सभा अन्तर्गत दोस्रोदिन सम्पन्न मतदानबाट पूर्व कार्यसमितिका महासचिव खड्का प्रत्यासी गीतकार बि. पाण्डेलाई भारी मतान्तर { लगभग ३ गुणा बढी } ले पछि पार्दै विजयी भएका हुन् l बि. पाण्डे यसअघि पनि ‘सङ्गीत रोयल्टी सङ्कलन समाज’ को चुनावमा अध्यक्ष पदमै भारी मतले पराजित भएका थिए l

साधारण सभामा अध्यक्ष बाहेकका सबै सदस्य निर्विरोध चुनिएका छन् l पुरानो कार्यसमितिबाट गीतकार तर्फका २ जना र सङ्गीतकार तर्फका २ जना गरी ४ जना पदाधिकारी अनिवार्य रहनुपर्ने विधानको प्रावधान अनुसार सो ‘सेफ जोन’ मार्फत सङ्गीतकार पी. एन. सापकोटा र श्रीकृष्ण बम मल्ल एवं गीतकार सुमन बैरागी पण्डित र शशी शर्मा मजगैया चुनिएका थिए भने खुला प्रतिस्पर्धातर्फ मतदान नै हुने अवस्था आएपनि अन्तिम समयमा केही उम्मेदवारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएकाले सङ्गीतकार तर्फका अमृत खाती, शिशिर देवकोटा र विक्रम राई तथा गीतकारतर्फका चन्द्र शर्मा, विपिन किरण र सुवास रेग्मी निर्विरोध भए l यो कार्यसमितिको कार्यकाल २ बर्षको रहने छ l 

पहिलो दिनको साधारण सभाको बन्द सत्रमा पेश भएको आर्थिक प्रतिवेदन अस्पष्ट भएको भन्दै केही सदस्यहरुले सो कुरा स्पष्ट हुनुपर्ने अडान राखेपछि बन्द सत्रको सिलसिला दोस्रो दिन पनि चलेको थियो l कार्यसमितिका पदाधिकारीहरुले हिसाव दुरुस्त पार्ने तरिका मात्र नमिलेको जानकारी गराउंदै संस्थाको १ रुपैंया पनि हिनामिना नभएको बताएका थिए l नमिलेका र अस्पष्ट हिसाबलाई दुरुस्त पार्नका लागि एक आर्थिक समिति गठन भएपछि सो विषयले निकाश पाएको थियो l

रोयल्टी सङ्कलन र वितरणका विषयलाई लिएर सामाजिक संजालमा खरो टिप्पणी गर्दै आएका चर्चित म्युजिक व्यवसायी एवं गीतकार सुवास रेग्मी यस कार्यसमितिमा निर्वाचित भएका छन् l अहिलेसम्म उनका कुरा मात्र सुनिरहेका म्युजिक व्यवसायीहरुमा उनको कार्यशैलीप्रतिको कौतुहलता स्वाभाविकै रुपमा सबैमा देखिएको छ l अध्यक्ष बाहेकका सबै उम्मेदवार कार्यसमिति सदस्यका रुपमा विजयी भएका छन् भने विधानको प्रावधान अनुसार समितिको पहिलो मिटिङबाट निर्वाचित १० पदाधिकारीहरुलाई पद बांडफांड गरिने छ l