नेपाल जेसिजद्वारा भूवन गन्धर्वलाई उत्कृष्ट युवा पुरस्कार

  • तुलसी गिरी ‘भावुक’

    नेपाल जेसीज केन्द्रीय कार्यालयद्वारा नेपाली साहित्य, कला, सङ्गीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत प्रत्येक वर्ष प्रदान गरिंदै आएको उत्कृष्ट युवा पुरस्कार यसवर्ष व्यावसायिक तवलावादक भूवन गन्धर्वलाई प्रदान गरिएको छ । जनकपुरमा सम्पन्न नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशनका अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो l पुरस्कारको लागि लमही जेसिजले राष्ट्रिय समितिलाई युवा वाद्यवादक भूवन गन्धर्वको नाम सिफारिस गरेर पठाएको थियो भने नेपाल जेसिज वर्ष-२०१८ को उत्कृष्ट युवा छनोट समितिको अन्तिम छनोटमा उनी परेका हुन् l महाधिवेशनमा प्रमुख अतिथिका रुपमा उपस्थित गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नगद, स्वर्णपदक र ताम्रपत्रबाट उनलाई पुरस्कृत गरेका थिए l चौथोपटक जनकपुरमा आयोजित सो राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि जेसिजका १ सय ४५ शाखाबाट करिव २ हजार प्रतिनिधि उपस्थित थिए l जेसिजले भूवन लगायत भिन्न विधाका अन्य उत्कृष्ट युवाहरुलाई समेत पुरस्कृत गरेको थियो l जेसिजले प्रदान गर्दै आएको यो राष्ट्रिय पुरस्कार जो कोहीका लागि पनि गौरवको विषय बन्दै आएको छ l 
    सुप्रसिद्ध सारंगीवादक जंग बहादुर गन्धर्वका कान्छा सुपुत्र भूवन वर्तमान नेपाली सङ्गीत बजारमा व्यस्त र कहलिएका सीमित वाद्यवादकहरु मध्येका एक हुन् l सबैजसो ताल बाजाका कुशल वाद्यवादक भुवन विशेषगरी तबला, ढोलक र मादल वादनमा बढी व्यस्त रहँदै आएका छन् l करिव ११ वर्षदेखि व्यासायिक वादकको रुपमा क्रियाशील उनले अनगिन्ती गीतमा आफ्नो कुशल वादनकला देखाईसकेका छन् l ‘म सानैदेखि बुबाको पछि लागेर स्टुडियोतिर जाने गर्दथें l घरको माहोल नै सङ्गीतमय भएकोले पनि होला गीत-सङ्गीत र बाजाहरुप्रति त्यही बेलादेखि आकर्षण बढेको थियो l मैले बुबाकै सहयोगमा आफ्नो ईच्छा अनुसारको काम गर्ने वातावरण पाएँ र बाल उमेरदेखि नै बाजाहरु मेरा साथी बनेका थिए l बुबा सारंगीवादक भएपनि तवलाप्रतिको मेरो झुकावलाई उहाँले सहजै स्वीकार गर्नुभयो र मैले त्यो बेलादेखि नै खुलेर अभ्यास गर्न पाएँ’ भूवन भन्छन् l जेसिज जस्तो प्रतिष्टित संस्थाले आफूलाई पुरस्कृत गरेकोमा गौरवको अनुभूति भएको र आगामी दिनमा अझ जिम्मेवार भई निष्ठापूर्वक कर्म क्षेत्रमा क्रियाशील रहने कुरा भूवनले बताएका छन् l