मायालु स्वरकी मल्लिका ‘मौसम’ लिएर आईन्

  • तुलसी गिरी ‘भावुक’मल्लिका कार्कीले औपचारिक रुपमा गायन यात्रा आरम्भ गरेको लगभग डेढ दशक पुगेको छ l यात्राको यो अवधि पार गरिसक्दा उनले संसारभर आफ्ना लाखौँ ‘फ्यान’ कमाईसकेकी छिन् l ०६१ सालमा गायन यात्रा आरम्भ गरेकी मल्लिकालाई त्यो बेला धेरैले दिपा नारायण झासँग तुलना गरेका थिए र अहिले पनि उनलाई दीपाको झल्को दिने गायिकाको रुपमा नै हेर्ने गरिन्छ l प्राकृतिक रुपमै कोमलता र मायालु पनले भरिएको उनको स्वरमा प्रेम, करुणा र निश्छलताको सम्मिश्रण भएको अनुभव गर्न सकिन्छ l कर्णप्रिय र लयालु गला अनि हृदयमा शीतलता छर्ने अबोध प्रकृतिको गलाको टोनले उनका गीतमा शृंगार भरेका हुन्छन् l जति अब्बल गायिका त्यति नै असल बोलीवचन भएकी मल्लिकालाई सङ्गीत क्षेत्रकै एउटी उदाहरणीय संस्कारिक कलाकारको रुपमा समेत चिन्ने गरिएको छ l
    मल्लिकाले भर्खरै एकल स्वरको दोस्रो एल्बम ‘मौसम’ सार्वजनिक गरेकी छिन् l केहीदिन अघि चाबहिलस्थित एक अनाथ बालगृहका बालबालिकाहरुलाई जाडोको कपडा वितरण गर्दै खाना समेत खुवाएर त्यहीं उनले आफ्नो दोस्रो एल्बम सार्वजनिक गरेकी हुन् l यसअघि उनको एकल स्वरमा ‘मल्लिका’ शीर्षकको एल्बम रिलिज भएको थियो l लोकप्रिय सङ्गीतकार आलोकश्रीको एकल सङ्गीत रहेको ‘मौसम’ मा किरण केसी ‘क्रोधी’, राजेन्द्र थापा, आलोकश्री र पदम रोकायाका शब्दरचनामा ‘लाखौँ छन् मेरोलागि मर्नेहरु, म त हजूर पूर्वेली नानी, तिमी तड्पेर क्यार्नु, झिम्काईदिउँ कि नशालु नजर र माया लाउँदै छुटाउने कस्तो रित भयो’ बोलका ५ वटा गीत रहेका छन् l जसमध्ये ‘लाखौँ छन् मेरोलागि’ को भिडियो OSR डिजिटलबाट सार्वजनिक भईसकेको छ भने अन्य गीतका पनि क्रमैसँग भिडियो निर्माण गर्ने योजना रहेको कुरा मल्लिकाले जानकारी गराएकी छिन् l यो समाचार लेखिरहँदा अपलोड भएको ९ दिनमै भिडियो लगभग ३ लाख दर्शकले हेरिसकेका छन् l
    मोरङ, सिजुवा निवासी पिता गणेश बहादुर कार्की र माता मैनामाया कार्कीको परिवारमा कान्छी छोरीको रुपमा जन्म लिएकी मल्लिका परिवारमै एकमात्र सङ्गीतकर्मी हुन् l सङ्गीतप्रति उनको झुकाव कसरी बढ्यो र के कुराले गायिका बन्न उनलाई प्रेरित गर्यो ? भन्ने बारेमा विगत सम्झंदै उनी भन्छिन् – ‘विराटनगरमा शान्ति सङ्गीत यात्रा नामक कार्यक्रम भएको थियो l त्यहाँ कुन्ति मोक्तान दिदीको प्रस्तुति सुनिसकेपछि दर्शक-श्रोता खुशीले चिच्याउन थाले l खै किन हो ‘यस्तै हुन पाए हुन्थ्यो’ भनेर मनमनै कल्पिएँ l म १० कक्षामा पढ्दैगर्दा स्कूलमा एउटा कार्यक्रम भएको थियो l त्योबेला मैले उषाकिरण अधिकारीको ‘आकाशैमा जूनतारा हो’ बोलको पूर्वेली गीत गाएकी थिएँ l धेरैले मन पनि पराउनुभयो l त्यहीबेला गाउँको एकजना दाइले ‘तिम्रो स्वर त दिपा नारायणको जस्तै छ’ भन्नुभएको थियो l’
    एसएलसी पछि मल्लिका काठमाण्डौ आएकी हुन् l काठमाण्डौ आएपछि सबैभन्दा पहिला बागबजारस्थित ‘हिमालय कला केन्द्र’ मा सङ्गीत सिकेकी उनले त्यसपछि केही महिना गान्धर्व कला केन्द्रमा चन्दन कुमार श्रेष्ठसँग पनि सिकिन् l विभिन्न गायन प्रतिष्पर्धाहरुमा भाग लिएपनि उत्कृष्ट नतिजा भने आउन नासकिरहेकै बेलामा उनले आफ्नै एल्बम निकाल्ने सोच बनाएकी थिईन् l घुम्दैफिर्दै अनामनगरस्थित ‘गुन्जन स्टुडियो’ पुगेकी मल्लिकाले ०६३ सालमा आलोकश्रीको सङ्गीतमा रेकर्ड हुन लागेको गीत ‘लाजको लाली’ को डमी गाउने अवसर पाइन् l सबैले उनको स्वर मन पराएपछि बलिउडका सुपरस्टार उदित नारायणसँग उनले त्यो युगल गीत गाउने अवसर पाएकी थिईन् l गीत यति लोकप्रिय भयो कि एकदमै छोटो समयमा उनी रातारात चर्चाको शिखरमा पुगिन् र तत्कालिन समयका केही अवार्डहरु समेत जितिन् l त्यो गीत ०६४ मा ‘उपमा’ एल्बम मार्फत बजारमा आएको थियो l ०६५ मा उनले एकल स्वरको एल्बम ‘मल्लिका’ सार्वजनिक’ गरिन् l जुन एल्बमका सबैजसो गीत ‘हीट’ भए l
    अत्यन्तै सम्भावनायुक्त गायिकाको रुपमा यस क्षेत्रमा देखा परेकी मल्लिकाका सुरुआती केही वर्ष स्वर्णिम रुपमा बिते l त्यो बेला उनका गीतहरु लगातार नै ‘हिट’ नम्बरमा रहेका थिए l ‘यति धेरै मान्छेहरुको भीडमा, तिमीले नसम्झिंदा माया, नयाँ जीवन पा’छु आज, जून माग जून दिन्छु, कति कुरा मुखले बोलिरहन्छ, आँखैमा राखूँ कि, म तिम्रो मायामा, बगैंचाको फूल टिपी’ लगायतका गीत निक्कै चर्चामा रहे l मल्लिकाले लामो समयको अन्तरालमा दोस्रो एकल एल्बम सार्वजनिक गरेकी भएपनि यो बीचमा उनी गायन प्रस्तुतिका लागि स्वदेश तथा विदेश यात्रा, चलचित्र एवं कलेक्शन एल्बमहरुमा व्यस्त थिईन् l उनले ‘जीवनमृत्यु, पापी मान्छे-२, खुशी, फर्कीआऊ, भुलभुलैया, जिन्दगानी दर्पणछाया, रङ्ग, जयहोस्, द गेम’ लगायतका चलचित्रमा गीत गाएकी छिन् भने गायन प्रस्तुति सिलसिलामा अमेरिका, जापान, क्यानडा, दुबई, कतार, वहराइन, फ्रान्स, जर्मनी, वेल्जियम, स्विडेन लगायत यूरोपका आधा भन्दा बढी मुलुकहरुको भ्रमण गरिसकेकी छिन् l कालिका म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, विन्धबासिनी म्युजिक अवार्ड, ईमेज अवार्ड जस्ता अवार्ड जितेकी उनी सङ्गीत क्षेत्रमा मल्लिकाको नामले परिचित भएपनि उनको वास्तविक अर्थात घरको नाम जानुका हो l यो सफलताको पछाडि उनको प्रतिभा, क्षमता, लगनशीलता र धैर्यता मुख्य कारक भएपनि प्रसिद्ध सङ्गीतकार आलोकश्रीलाई उनको साङ्गीतिक ‘गड फादर’ का रुपमा हेर्न सकिन्छ l ‘जानुका’लाई ‘मल्लिका’ बनाउनमा आलोकश्रीको जुन भूमिका रह्यो त्यो अविस्मरणीय छ l