‘नेशनल पावर न्युज म्युजिक अवार्ड’ का सर्वोत्कृष्ट ५ लाई प्रमाणपत्र, विदेश पलायन नहुन लालबाबुले गरे आग्रह

पावर इन्टरनेशनल मिडिया नेपाल { पिम नेपाल } को आयोजनामा सम्पन्न हुन गईरहेको दोस्रो ‘ नेशनल पावर न्युज म्युजिक अवार्ड-२०१९’ का सर्वोत्कृष्ट ५ को मनोनयनमा पर्न सफल सर्जक-कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l माघ १४ गते राजधानीको किङ्स् प्यालेश रोधीघरमा आयोजित सो समारोहमा नोमिनेशनमा परेका ५१ विधाका २ सय ५५ सर्जक, कलाकार र प्राविधिकलाई प्रमाणपत्र वितरण गरिएको हो l समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए भने कलाकर्मी एवं संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो l

नेपालकै पहिलो समावेशी यस अवार्डमा गतबर्ष प्रतिस्पर्धात्मक २७ विधा मात्र रहेकोमा २४ विधा थप गरी यसपटक ५१ विधा पुर्याइएको कुरा अवार्ड आयोजक कमिटीका अध्यक्ष माधवराज खरेलले जानकारी गराएका छन् l आगामी माघ २४ गते जमलस्थित राष्ट्रिय नाचघरको मेघा हलमा सम्पन्न हुने यस अवार्ड समारोहमा सङ्गीतकर्मीहरुलाई प्रतिस्पर्धा बाहेकका जुरी अवार्ड, डायस्पोरा अवार्ड, इन्करेज्मेन्ट अवार्ड र पव्लिक च्वाइस अवार्ड समेत प्रदान गरिने छ भने ‘नगद सहितको नेशनल पावर न्युज रङ्ग पत्रकारिता पुरस्कार’ बाट १ जना र ‘रङ्ग पत्रकारिता सम्मान’ बाट २ जना पत्रकार समेत पुरस्कृत हुने   कुरा अध्यक्ष खरेलले जानकारी गराएका छन् l अवार्डमा नेपाल, तामाङ, राई, काँठे, देउडा, गुरुङ, लिम्बू र मैथिली गरी ८ भाषाका सर्जक / कलाकार समावेशी विधा अन्तर्गत प्रतिस्पर्धामा रहेका छन् l
अवार्ड आयोजक कमिटीको अध्यक्षमा माधवराज खरेल, सदस्य सचिवमा श्रीदेव भट्टराई, कार्यक्रम संयोजकमा कमला जोशी, प्राविधिकमा राजन खरेल र राम ढकाल, व्यवस्थापनमा अर्जुन खरेल, राजन थापा, अर्विन्द्र गौतम र सपना जोशी एवं संचार संयोजकमा गीता अधिकारी रहेका छन् l अध्यक्ष माधवराजका अनुसार अवार्ड जुरीको नाम भने गोप्य नै राखिने छ l

video link