जहाँ पुगेपनि आफ्नै कला र भाषाको माया

– सुनिल राई

भूटानको सर्वाङ्ग जिल्ला अन्तर्गत सुरे गाउँमा जन्मिएका नारद आचार्य ´सुदामा’ ले कलिलै उमेरमा जन्मभूमिबाट वियोग हुनु पर्यो । नेपालको झापा जिल्लामा शरणार्थीको रूपमा बीसौंबर्ष कष्टकर जीवन बिताएका नारद सन् २००५ मा पूर्वी सिक्किममा जागिरको खोजीमा भौंतारिएका थिए । यस्तै  कहालीलाग्दो जीवन भोगाइ पछि नारद र उनको परिवारले तेस्रो देश पुनर्वास रोज्न पुगे र सन् २०१२ मा जर्जिया राज्यमा पाईला टेके । समयको हुरीले उनी र उनको परिवारलाई सन् २०१८ मा  पेन्सिलभेनिया राज्यको हेरिस्वर्ग शहरमा ल्याईपुर्याएको छ ।
नारद आजभन्दा दुई दशक पहिलादेखि नै भाषा र साहित्यमा   निरन्तर कलम चलाउँदै आएका व्यक्ति हुन् । सन् १९९३ – २००४ सम्म शरणार्थी शिविरमा समाज सेवा जस्तो पवित्र कार्यमा समेत उनी सक्रिय थिए । सन्  २००२ मा भित्ते पत्रिका  ‘बाल सौगात’ को सम्पादन गर्दै साहित्य चौतारी समूह, नेपाली भाषा परिषद् भूटानमा आवद्ध भएर आफ्नो मौलिक भाषा र संस्कृतिमा सेवा गर्ने प्रतिभा हुन् आचार्य ।

यसरी नै क्रमिकरूपमा संयुक्त राज्य अमेरिकाको व्यस्त  जीवनमा पनि उनको कलमले न्याय पाईरहयो । फलस्वरूप सन् २०१४ मा बहुजाति बहुभाषिलाई एउटै मालामा सजाउने मनसायले बैरागी माइलो र धर्मेन्द्र  तिम्सिना ‘क्षितिज’ ले स्थापना गरेको ‘मातृभाषा संरक्षण समूह’ को  विचारलाई आचार्यले काँध हाले । यस समूहले हालसम्म ८ वटा  कृतिहरू प्रकाशन गरेर भाषा र साहित्यको दरवारमा ईंटा थप्ने काम गरेको छ भने दर्जनौ नव श्रष्टाहरू पनि जन्माएको छ । सन् २०१७ मा स्थापना भएको ‘त्रिवेणी साहित्य मञ्च’ हेरिस्वर्ग पेन्सिलभेनियाका सञ्चार विभागमा कार्यभार समालेर राम्रो छाप छोडेका  छन् आचार्यले । गजल लेखनबाट गीत लेखनमा पनि उत्तिकै कुशलता देखाएको प्रमाण उनका देशभक्ति गीत ‘विछोडिएको मन’ र प्रमिल गीत गजल  ‘एकान्तमा ती लजालु नजर’ ले पनि दिएका छन् । आचार्यको  एकल गजल सङ्ग्रह ‘विछोडिएको मन’  ‘मिश्रित गजलहरुको सङ्ग्रह हो । यसरी नै समुन्द्रपारिका कलमहरू संयुक्त गजल लगायत सामाजिक सन्जालमा उनका रचना देख्न पाइन्छ ।
सामाजिक अभियन्ताका रूपमा समेत परिचित नाम हो ‘सुदामा’ । स्पष्टवक्ता आचार्य सुशील स्वभावका धनी छन् ।  मातृभाषालाई उनी जननी सम्झन्छन्, आफ्नो भाषालाई आमालाई जस्तै माया गर्ने आचार्य जस्ता सुपुत्र कमै मात्र जन्मछ्न् । उनीद्वारा रचित गीत ‘विछोडिएको मन’ सुनिल राईको सङ्गीत र प्रताप दासको स्वरमा रेकर्ड भएको छ भने गीतको भिडियो समेत आउन लागेको छ ।