पोखरा पुग्यो ‘रणवीर’ प्रचार टोली, माघ १८ बाट रिलिजको तयारी

यही १८ माघबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रणवीर’ टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसलको प्रचार-प्रसारलाई तीब्र पारेको गरेको छ । यसै क्रममा निर्माण टोली पोखरा पुगेको छ ।  पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराईयो । पत्रकार भेटघाटमा बोल्दै  यस चलचित्रका अभिनेता सुशील सिटौलाले आफू यो चलचित्रमा रणवीरको शीर्ष भूमिकामा रहेको जानकारी गराए l ‘यस अघिका फिल्ममा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आएपनि यसमा रणवीर बनेर म मुलुकका विकृति, बिसङगति विरुद्ध उत्रिएको छु । रणवीरमा दर्शकहरुले मलाई छुट्टै चरित्रमा देख्नुहुने छ । मेरो भूमिकालाई पर्दामा हेरेर दर्शकले त्यसको मूल्याङ्कन गर्नुहुने छ भन्ने पनि अपेक्षा गरेको छु’ उनले पत्रकार सम्मेलनमा भने ।

यो चलचित्रमा सुशीलसँगै नवोदित अभिनेत्रीद्वय शुभेच्छा खड्का र  सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटा लगायतको मुख्य भूमिका रहेको छ ।

नवोदित अभिनेत्री एवम् ‘मिस नेपाल इन्टरनेशलन २०१२’ शुभेच्छा खड्काले यसअघि विभिन्न चलचित्रमा प्रस्ताव आएपनि खोजेको जस्तो भूमिका र टिम पाएका कारण रणवीरमा काम गरेको बताईन् । पहिलो चलचित्रबाट आफूले दर्शकको मन जित्नेमा विश्वस्त रहेको पनि उनले जिकिर गरिन् ।

अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो चलचित्रमा आफू एउटी प्रेमिकासँगै जिम्मेवार युवतीको भूमिकामा समेत रहेको जानकारी गराईन् । आफू नयाँ भएकोले अग्रज कलाकारहरुसँग काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव उनले सञ्चारकर्मीलाई सुनाईन् ।

यसका लेखक एवम् निर्देशक गोविन्द सिंह भण्डारीले आफू दक्षिण भारतीय सिनेमा उद्योगमा कार्यरत रहेपनि नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर यता आएको कुरा बताएका थिए । उनले पत्रकार भेटघाटमा बोल्दै चलचित्र रणवीरमा विकराल भ्रस्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाईएको जानकारी गराए । रणवीर प्रेम कथामा आधारित भएर पनि एक्सनप्रधान सामाजिक सिनेमा बनेको उनले बताए ।

यसअघि चलचित्र ‘गाजाबाजा’  बनाएका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरको निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै गोमाले रणवीरको कथा सशक्त रहेको र निर्देशक गोविन्दको यस अघिका कामबाट आफू प्रभावित भएकाले रणवीरमा लगानी गरेको हो भनिन् । उनले यो फिल्मबाट आफू महिला निर्माताले पनि राम्रो सिनेमा बनाउन सक्छन् भन्ने एउटा उदाहरण बन्ने विस्वास व्यक्त गरिन्  ।

निर्माता दीपेन्द्र रेग्मीले रणवीरले बाउ र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेश गर्ने छ जानकारी गराए । उनले भने- ‘यसमा नेपाली समाजको समसामयिक कथा रहेको छ ।’ पोखरामै अध्ययन गरेर यहींबाट पत्रकारिता सुरु गरेका स्याङ्जाका रेग्मी पत्रकार भेटघाटमा आफ्नो अनुभव सुनाउँदा भावुक भएका थिए ।

‘तिरिमिरि तीन तारा…’गीत र ट्रेलरका कारण अहिले चर्चामा रहेको रणवीरमा महेश पौडेलको छायाङ्कन , कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, राजनराज शिवाकोटी, हर्कुलस बस्नेत र अमित श्रेष्ठको सङ्गीत, रामजी लामिछोने, गम्भीर  विष्ट र सुरेन बस्यालको कोरियोग्राफी रहेको छ ।

 

– तस्बिर सुरज श्रेष्ठ