प्रेमकथामा आधारित ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक, फागुन १० बाट प्रदर्शनमा आउने

फिल्म ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित यस फिल्मको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बीचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्कोतिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् ।

कार्यक्रममा बोल्दै फिल्मकी नायिका दिपशिखा खड्काले फिल्म निर्माण गर्नु निकै गाह्रो रहेको बताइन् । ‘हरेक कलाकारले एकचोटी फिल्म निर्माण गर्नुपर्छ अनि बल्ल निर्माताको सास्ती बुझिँदो रहेछ’ खड्काको भनाई थियो । आफू महिला निर्मात्री भएकै कारण फिल्म निर्माणको क्रममा निकै सास्ती बेहोर्नु परेको उनले सुनाइन् ।

पवन गौतमको छायाङ्कन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको यस फिल्ममा महेश खड्का, नवीन कार्की र रविराज शाहको सङ्गीत, राजेशपायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरि बराल र डा. सागरको रहेको छ ।

फिल्ममा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको यो फिल्म नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।