निरन्तर सङ्गीत यात्रामा निम संगीत, नयाँ म्युजिक भिडियो युट्युबमा लोकप्रिय हुँदै

सङ्गीतकार निम संगीतको नयाँ एल्बम ‘प्रेमको हत्यारा’ बाट एउटा गीतको भिडियो सार्वजनिक भएको छ l माघ २ गते म्युजिक नेपालको युट्युब च्यानलबाट उनको नयाँ भिडियो बजारमा आएको हो l ‘प्रेमको तिमीलाई देवी नै सम्झें’ बोलको सो गीतको भिडियो अपलोड भएको १ दिनमै १८ हजार दर्शकले हेरिसकेका छन् l जसबाट आगामी दिनमा भिडियोले निकै राम्रो भ्युज पाउने अनुमान गर्न सकिन्छ l सेन्चुरी सुरेश घमालको शब्द, निम संगीतको सङ्गीत र प्रमोद खरेलको स्वरमा रहेको यस गीतको भिडियो जोन राईको निर्देशनमा तयार भएको हो भने भिडियोमा यान्चु तामाङ, जोन राई, निरु तामाङ र साथीहरुको अभिनय रहेको छ l

८ कक्षा पढ्दैदेखि स्कूलका कार्यक्रमहरुमा गीत गाउन थालेका निम संगीत सुरु सुरुमा गायक नै बन्छु भनेर यस क्षेत्रमा आएका थिए l तर कालान्तरमा उनले सङ्गीतलाई आफ्नो मुख्य विधाका रुपमा अगाडि बढाए l हुन त उनी गीतकार, गायक र सङ्गीत संयोजक समेत हुन् र सबै विधामा काम गरिरहेका पनि छन् l तर संख्यात्मक रुपमा हेर्दा र बजारमा स्थापित पहिचानको आधारमा उनले सङ्गीत सिर्जनालाई नै मुख्य विधाको रुपमा अपनाएको बुझ्न सकिन्छ l

सर्जक/कलाकार निम सङ्गीत सानैदेखि सङ्गीतप्रति गहिरो झुकाव राख्थे l उनको सङ्गीत मोह देखेर माइलो दाइ गायक तथा चलचित्र अभिनेता कृष्ण स्वर्णकारले गितार र हार्मोनियम किनिदिएका थिए l रुची बुझेर सपोर्ट गर्ने अभिभावक पाएका भाग्यमानी निम, बाल उमेरदेखि नै आफैं बाजा बजाएर गाउँथे l उनको जन्मथलो पोखरा हो l पुस्तौंदेखि उनको परिवार सुनचाँदी गहना व्यवसायमा संलग्न रहँदै आएको थियो l परिवारको गहना व्यवसायकै कारण स्कूल र कलेजको पढाई भिन्न भिन्न ठाउँबाट पूरा गरेका निम विगत सम्झँदै भन्छन्- ‘मेरो दाइ रुकुममा ‘सुनचाँदी व्यावसायी सङ्घ’ को अध्यक्ष हुनुहुन्थ्यो l म पनि त्यहींको त्रिभुवन जनता उच्च माविमा पढ्थें l हरेकवर्ष ‘सुनचाँदी व्यावसायी सङ्घ’ ले ‘नारायणगोपाल स्मृति’ कार्यक्रमको आयोजना गर्थ्यो l गगन सरगम र म त्यो कार्यक्रममा सहभागी भएर गीत गाउँथ्यौं l’
  निम सङ्गीतले पहिलोपटक ०५७ सालमा नेपालगन्जको वेभ डिजिटल नामक स्टुडियोमा आफ्नै शब्द/सङ्गीतमा ‘तिम्रो माया मलाई लाग्छ’ बोलको लोकगीत रेकर्ड गरेका थिए l नेपालगंजबाट प्लस टु गरेपछि नयाँ जाँगर, उत्साह र सपना बोकेर ०५९ मा उनी राजधानी प्रवेश गरे l कलेज पढ्दै सङ्गीतमा केही गर्ने उद्देश्यले उनलाई काठमाण्डौको यात्रा गराएको थियो l ‘काठमाण्डौ आउनासाथ डोरेमी सङ्गीत पाठशालामा ईश्वर अमात्य र भानुभक्त ढकालसँग शाश्त्रीय सङ्गीत सिक्न थालें’ उनले आफ्ना विगत सम्झंदै भने l डोरेमीमा लगातार ३ वर्षसम्म सङ्गीत सिकेका निमले लगत्तै विक्रम कार्कीसँग ३ वर्ष गितार पनि सिके l तर सङ्गीत सिक्दैगर्दा अर्थात काठमाण्डौ आएकै साल ०५९ मा उनले आफ्नै शब्द/सङ्गीतको एल्बम ‘अमर प्रेम’ बजारमा ल्याए l जसमा जगदिश समाल, सपनाश्री, कृष्णभक्त राई, खेमराज गुरुङ, गगन सरगम र उनी स्वयम्को स्वर थियो l त्यही एल्बमबाट जगदिशको स्वरमा रहेको गीत ‘म त मर्छु क्यारे’ धेरै लोकप्रिय पनि भयो l त्यसपछि फुटकर रुपमा सङ्गीत सिर्जनामा लागिरहेका निमले ०६५ मा पुनः एकल सङ्गीतको एल्बम ‘तिम्रो मन’ सार्वजनिक गरे l गायक गगन सरगमको स्वरमा रहेको यस एल्बमका २ युगल गीतमा अन्जु पन्त र अन्जना गुरुङले साथ दिएका थिए l एल्बममा निमका समेत केही शब्द रहेका थिए भने ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ’ श्रोताले धेरै मन पराए l यसैगरी ०६७ मा उनको एकल सङ्गीतको अर्को एल्बम ‘सुधा’ बजारमा आएको थियो l जसमा सुधारत्नले एकल स्वर दिएका थिए l शब्द लेखन, सङ्गीत र गायन समेतमा संलग्न रहँदै यात्रालाई निरन्तरता दिईरहेका निमले यसै एल्बमबाट सङ्गीत संयोजनको काम पनि सुरु गरेका थिए l जुन कामका लागि उनले कसैलाई गुरु थापेनन् l स्वअभ्यासबाट सङ्गीत संयोजन आरम्भ गरेका निमले त्यसपछि सङ्गीत संयोजनलाई पनि निरन्तरता दिंदै आएका छन् l ०७२ मा अर्थात भरखरै उनको एकल सङ्गीतको अर्को एल्बम ‘प्रेमको हत्यारा’ प्रकाशित भयो l केही गीतमा उनको शब्द लेखन र केहीमा सङ्गीत संयोजन रहेको यो एल्बममा प्रमोद खरेल, स्वरुपराज आचार्य, शिव परियार, रजिना रिमाल, गगन सरगम, सुधारत्न र सुजन सरगमको स्वर रहेको थियो l त्यसपछि यही वर्ष अर्थात ०७५ मा उनको एकल सङ्गीत र गगन सरगमको एकल स्वर रहेको एल्बम ‘प्रेमको भिखारी’ रिलिज भएको छ l
एकल सङ्गीतका र फुटकर समेत गरी हालसम्म लगभग २ सय सङ्गीत, ५० जति शब्द लेखन र ४० जति सङ्गीत संयोजन गरिसकेका निमका ‘म त मर्छु क्यारे, नपाएको माया तिम्रो, तिम्रो मनको माझ फुल्न मन लाग्छ, प्रिय तिम्रो सुन्दर मुहार, तिमीलाई नै माया गर्छु, प्रेमको हत्यारा, प्रेमको भिखारी’ लगायतका गीत बजारमा लोकप्रिय भएका छन् l उनले ‘कस्तो टेन्शन’ र ‘पाष्ट’ नामका दुई चलचित्रमा समेत सङ्गीत र ‘नेचर गाई’ नामक चलचित्रमा ‘ब्याकग्राउण्ड’ म्युजिक समेत दिईसकेका छन् भने सङ्गीतका दुई चलचित्र हाल रिलिजकै क्रममा छन् l ‘अमर प्रेम म्युजिक’ नामको म्युजिक कम्पनी र सोही नामको युट्युब च्यानलका संचालक समेत रहेका निमले आफ्ना एकल सङ्गीतका एल्बमहरु आफ्नै कम्पनीबाट रिलिज गर्दै आएका छन् l सङ्गीतका धेरैजसो विधामा उत्तिकै पारङ्गत निम भविष्यमा सङ्गीत र सङ्गीत संयोजनलाई मुख्य विधाका रुपमा अंगाल्दै अघि बढ्ने बताउँछन् l

video link