लिरिकल भिडियोमा सन्जिव कुमार

सन्जिब कुमार पौडेलले आफ्नै सङ्गीत/स्वरमा रहेको गीत ‘सुनसान रातमा आँखा खोली तस्बीर हेर्दै होलिन्’ को लिरिकल भिडियो युट्युबबाट सार्वजनिक गरेका छन् l भिडियो उनले आफ्नै युट्युब च्यानल ‘सुर सरगम म्युजिक’ बाट सार्वजनिक गरेका हुन् l देवी घिमिरेको शब्दरचना रहेको यो गीतमा देवेन्द्र नेवाको म्युजिक एरेन्ज रहेको छ भने लिरिकल भिडियो सम्पादक राजन खरेलले तयार पारेका हुन् l आफूबाट टाढा रहेकी प्रेयशी यतिबेला के के गर्दै होलिन् भन्ने कल्पना गीतमा गरिएको छ l गीतकार आफ्नी प्रेयशी यसो गर्दै होलिन् , उसो गर्दै होलिन् भन्ने मीठा भाव सागरमा डुबेका छन् l गीतको विषयबस्तु नित्तान्त नौलो र मौलिक प्रस्तुतिमा रहेको छ l
सानैदेखि सङ्गीतमा रुची राख्ने गरेका गायक सन्जिब कुमार ७-८ बर्षको फुच्छे हुँदैदेखि स्कुलका गायन प्रतियोगिताहरुमा भाग लिन्थे भने १२-१३ बर्षको उमेरदेखि नै उनले हार्मोनियम बजाएर गीत गाउन थालिसकेका थिए l पहिलोपटक ०५९ सालमा लक्ष्मी न्यौपानेसँग युगल गीत गाएका सन्जिबले केही समय फुटकर रुपमै अन्य गीत रेकर्ड गरेका थिए l ०७० मा उनको एकल स्वरको एल्बम ‘अठोट’ सार्वजनिक भएको थियो l ०६८ मा पशुपतिनाथ सङ्गीत प्रतिष्ठानद्वारा आयोजित भजन प्रतियोगितामा दोस्रो स्थान हासिल गरे पश्चात दत्तचित्त भई सङ्गीतमा लागेको उनी बताउँछन् l
त्यसपछि उनले ०७३ मा ‘अतृप्त’ र ०७४ मा ‘अस्तित्व’ शीर्षकका एकल एल्बम पनि प्रकाशन गरिसकेका छन् l पूर्व समयमा प्रखर सङ्गीत गुरु चन्दन कुमार श्रेष्ठका चेला रहेका सन्जिव हाल चण्डी प्रसाद काफ्लेसँग शास्त्रीय सङ्गीत सिकिरहेका छन् l खगेन्द्र दाहालको एकल शब्द तथा आफ्नै सङ्गीत/स्वरमा नयाँ एल्बमको तयारी गरिरहेको कुरा समेत गायक तथा सङ्गीतकार पौडेलले जानकारी गराएका छन् l