महोत्सवमय चितवनमा बाल गायक प्रिन्सको बेजोड प्रस्तुति

– राजेन्द्र आचार्य –

चितवन, २ माघ । चितवन यतिबेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसँगै यहाँ बिभिन्न मेला महोत्सवका कारण जिल्ला नै महोत्सवमय बनेको हो ।

पूर्वी चितवन महोत्सवबाट सुरु भएको मेला महोत्सव गर्ने क्रम प्रथम खैरहनी महोत्सव, चितवन हात्ती महोत्सव हुँदै १२ औँ संस्करणको चितवन महोत्सव र खिचरा महोत्सवले जिल्लाको महोल नै तातेको छ ।

मेला महोत्सवमा सबैभन्दा बढी आर्कषण साङ्गीतिक प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन लिने गर्दछन् । जसका कारण यतिबेला गायक गायिकाहरुको चटारो समेत बढेको छ । एकपछि अर्को महोत्सवमा आफ्नो प्रस्तुति दिन भ्याईनभ्याई छ । यतिबेला राष्ट्रिय स्तरमा चर्चा कमाएकादेखि स्थानीय स्तरका कलाकार र गायक गायिकाहरु समेत व्यस्त छन् । यी  मध्ये एक हुन्- अहिले चर्चाको शिखरमा रहेका बाल गायक प्रिन्स सिलवाल ।

११ बर्षिय प्रिन्स ‘न मानामा नापिन्छ माया’ बोलको गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेसँगै उनी यतिबेला सुरिलो स्वर र फरक प्रस्तुतिका कारण लोकप्रिय बनेका छन् र उनी  महोत्सवमय बनेको चितवनमा व्यस्त छन् ।

चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौँको गोल्डेन  होराईजन एकेडेमी बालाजूमा कक्षा ५ मा अध्ययनरत प्रिन्सको दैनिकी समेत फेरिएको छ । जाडो मौसममा घर विदामा आउँदा प्राय: रमणीय सौराहा घुम्ने र आफ्नो परिवार र साथीसँगै रमाउने उनी अहिले विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुति  कसरी रोचक बनाउने भनेर व्यस्त बनेका छन् ।

‘पढ्ने बेलामा पढ्न पर्यो, पहिलो गीत भन्दा दोश्रो गीत छिटो बजारमा आएपछि सबैको माया पाएँ, उत्साह बढ्यो । अनि पहिलो गीत समेत केही दिनमा भिडियो सहित सार्वजनिक गर्दै छु । ममी र बाबाको साथले हौसला मिलेपछि स्कुल विदाको समयमा कसरी स्टेजमा राम्रो प्रस्तुति दिने भनेर बित्छ’ उनले भने । उनी स्टेजमा पुगेपछि सबैजना सन्चै हुनुहुन्छ ? दर्शकलाई प्रश्न गर्छन्  । तपाईहरु माया नाप्न सक्नुहुन्छ ? भन्दै दर्शकको साथ लिदै उनले प्रस्तुति दिदै आएका छन् ।

‘पहिलो गीत रेर्कड भो, राम्रो भएपछि लगत्तै अर्को दशैं विशेष गीत पनि रेकर्ड गरियो । त्यो पनि लोकप्रिय भएपछि मेला महोत्सवका आयोजकहरुबाट बाबुको प्रस्तुति दिन पर्यो भनेर खबर आउँदा मलाई पनि खुशी लाग्छ । अहिले बाबुलाई लिएर मेला महोत्सवतिर जाँदा र दर्शकहरुबाट ‘वान्स मोर’ आउँदा निकै खुशी छु’ गायक प्रिन्सका बुबा रमेश सिलवालले भने ।

सौराहाकै चितवन हात्ती महोत्सवमा स्टेज पर्फर्मेन्स राम्रो भएपछि उनले जिल्लामै आयोजना भएको चितवन महोत्सव, खिचरा महोत्सव र क्याम्पाचौर फुड फेष्टिवलमा समेत निकै राम्रो प्रस्तुति दिएका छन् । ‘हामी त अचम्म पर्यौँ ।  निकै राम्रो गीत गाउने मात्र होईन्, स्टेज समेत राम्रो कभरेज गरेको देख्दा हामी चकित पर्यौँ  । गायनमा भाइको राम्रो सम्भावना छ’ चितवनका सङ्गीतकार प्रसाद श्रेष्ठले भने ।