गरुड पुराण सेन्सर पास, पायो पिजी सर्टिफिकेट

४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्मलाई सोमबार अबेर साँझ सेन्सर गरेको हो । समितिले यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।

यो चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए । उनका अनुसार यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ ।

‘माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेहरुको कथामा आधारित रहेकाले पनि विवाहको मौसम पारेर रिलिज गर्न लागिएको हो । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं’ निर्देशक सुवास कोइरालाले भने ।

यो फिल्मको ‘म त पिरेममा…’ गीत अहिले चर्चामा छ । निश्चल बस्नेत सहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोशिश क्षत्रीको सङ्गीत, कोशिश र मनिषा पोखरेलको स्वर छ ।

यो चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् । यस्तै कर्मा, लुनिभा तुलाधर, प्रवीण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे र रश्मी भट्ट सहितको यसमा मुख्य भूमिका छ । यही फिल्मबाट प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन् ।

अजित प्रजापती र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा विनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् ।

गरुड पुराणलाई सुसन प्रजापतिले  छायाङ्कन गरेका हुन् । जसमा रेनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यवस्थापन रहेको छ ।