हङकङ र नेपालमा एकैसाथ विमोचन, विमोचन पश्चात एकल साँझ सम्पन्न

गीतकार भद्रकला आङ्बुहाङ राईको एकल शब्दरचनामा तयार भएको गीति एल्बम ‘माया’ औपचारिक रुपमा बजारमा आएको छ l बागबजारस्थित हेल्लो क्याफेमा आयोजित कार्यक्रममा संचारकर्मीहरुमाझ उनको सो एल्बम सार्वजनिक भएको हो l कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार एवं सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बास्कोटा, वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, उन्नति बोहरा ‘शीला’, सङ्गीतकार राजु सिंह, लक्ष्मण शेष र पत्रकार राजाराम फुँयालले एल्बम संयुक्त रुपमा लोकार्पण गरेका थिए l यसअघि ०७० सालमा ‘अजम्बरी’ शीर्षकको एकल एल्बम प्रकाशन गरेकी गीतकार भद्रकलाको यो दोस्रो एल्बम हो l
‘माया’ गीति एल्बममा ‘मैले मायाले दिएको चिनो, मैले तिमीलाई मन पराएकै हो, एक्लोपन महसुस गर्दैछु, भुल्यौ कि मलाई, ए माया किन हो नबोलेको, मखमली पछ्यौरी गुन्युचोली, मायाको मीठो बोली, यो मुटुमा चोट लाग्दा, तिमी फूलबारीमा मात्र र बाध्यताले टाढा भए’ शीर्षकका १० गीत सङ्ग्रहित छन् l जसमध्ये एउटा गीत मेल-फिमेल भर्सनमा रहेकोले गीत प्रस्तुति संख्या ११ रहेको छ l एल्बमका गीतमा बादल लिम्बू, सुरेश अधिकारी, वसन्त सापकोटा र राजिव साहको सङ्गीतमा राजेशपायल राई, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बू, अन्जु पन्त, बादल लिम्बू, रजिना रिमाल, निखिता थापा, टंक लिम्बू र प्रविशा अधिकारीले स्वर दिएका छन् l
विगत २ दशकभन्दा लामो समयदेखि हङ्कङलाई कर्मथलो बनाईरहेकी भद्रकला एल्बम विमोचनको समयमा नेपाल आउन नसकेका कारण समारोहमा उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो भने गरिब, दुखी र असहायहरुलाई हर समय तन, मन र धनले सहयोग गरिरहेकी भद्रकलाको व्यक्तिव झल्कने केही मिनेटको भिडियो समेत समारोमा प्रदर्शन गरिएको थियो l विमोचन कार्यक्रम पत्रकार राजाराम फुँयालको संयोजनमा सम्पन्न भएको हो l
प्राप्त जानकारी अनुसार यता नेपालमा एल्बम विमोचन भईरहँदा उता हङ्कङमा पनि विमोचन भईरहेको थियो भने विमोचन पश्चात उनको एकल रचनाहरुको गायन साँझको आयोजना गरिएको थियो l जहाँ राजेशपायल राई, बादल लिम्बू र प्रविशा अधिकारीले भद्रकलाका एकदर्जन गीत प्रस्तुत गरेका थिए भने भद्रकलाकै गीतमा मरिश्का पोख्रेल र सोनिका रोकायाले नृत्य प्रस्तुत गरेका थिए l कार्यक्रमबाट उठेको रकम असहाय एवं अशक्त बिरामीहरुको उपचारमा खर्च गरिने थाहा भएको छ l
एल्बम विमोचन समारोहमा प्रमुख अतिथि बास्कोटाले भद्रकलाको नेपाली गीतप्रतिको समर्पण भाव, नेपाली कलाकारप्रतिको माया र समाजसेवी भावना जो कोहीलाई पनि चकित पार्ने खालका भएको कुरा बताएका थिए भने अर्का वक्ता डा. कृष्णहरि बरालले अन्तरआत्मादेखि समाज सेवामा लागेको मान्छेको हृदय पनि पवित्र हुन्छ भन्दै भद्रकलाका गीतमा त्यो पवित्रता महसुस गर्न सकिने धारणा राखेका थिए l वरिष्ठ गीतकार एवं प्राज्ञ उन्नति बोहरा शीलाले भद्रकलाका बारेमा आफ्ना विचारहरु यसरी पोखेकी थिईन्- ‘नेपाली साङ्गीतिक ईतिहासमा एउटा सुनको ईंटा थपिएको छ l पुनः एउटी सशक्त गीतकारको उपस्थिति भएको छ l १०-१५ वर्षयता विदेशमा रहेका धेरै महिला दिदीबहिनीहरुले गीत लेखनमा प्रभावशाली उपस्थिति देखाउँदै आएका छन् l जहाँ नेपालको माया मात्र हैन, नेपाली मन र नेपाली पन समेत पोखिएका छन् l

विमोचन समारोहको भिडियो विस्तृतमा हेर्नुहोस्