युट्युब र एमएन एप्समा लोकप्रिय हुँदै उदय नारायण

आफ्नै गृहग्राम सप्तरी, भारदहबाट २०४८ सालमा एउटा सङ्गीत क्लव मार्फत् गायनमा प्रवेश गरेका उदय नारायण झा त्यसको एक वर्षपछि आफ्नो भाग्य परीक्षा गर्न राजधानी काठमाडौँ आए । त्यहीवर्ष धीरेन्द्र प्रेमर्षीको एउटा मैथिली गीत रेकर्ड गरेपछि उनी औपचारिक रूपमा साङ्गीतिक दुनियाँमा प्रवेश गरे । उनले त्यहीवर्ष विजयसिंह मुनालको सङ्गीतमा एउटा नेपाली आधुनिक गीतपनि रेकर्ड गरेर यस क्षेत्रमा सङ्घर्ष गरिरहे । तर उनको भाग्य बलियो रहेछ, धेरै लामो सङ्घर्ष गर्नु परेन । भारतमा गएर सङ्गीत प्रशिक्षण लिने ध्येयले छात्रवृत्तिका लागि भारतीय दूतावासमा फारम भरेका थिए, उनी उत्तीर्ण भए । अनि उनी मुम्बईस्थित गन्धर्व महाविद्यालयमा भर्ना भए l स्नातक सम्मको शिक्षा हासिल गरे र रीतुराजको सङ्गीतमा हिन्दी टेलिसिरियलमा गीत गाउन थाले । उनले रीतुराजकै सङ्गीतमा ‘प्यार भरा दिल तेरे लिये’ नामक हिन्दी फिल्ममै पनि गीत गाउने अवसर पाए । त्यसपछि उदय नारायणका लागि अवसरका ढोकाहरू खुल्दै जान थाले । त्यसैले त उनी आजसम्म करिव अढाई हजार गीत गाएको दाबी गर्न सक्ने लोकप्रिय गायक हुन पुगेका छन् । उनले हिन्दी बाहेक भोजपुरी, मैथिली, बङ्गाली, उडिया, राजस्थानी, गुजराती आदि भारतीय प्रादेशिक भाषामा भटाभट गीत गाइरहेका छन् ।

यी प्रतिभाशाली गायकका नयाँ नेपाली गीतहरू पहिलोपटक हालै म्युजिक नेपालले प्रकाशन गरेको छ । युट्युब र एमएन एपबाट प्रसारित उनका चारवटा गीतले छोटो समयमै श्रोतालाई आकर्षित गराइरहेका छन् ।