७ दर्जन सिनेमा हलमा चौका दाउ लाग्दै

सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौका  दाउ’ एकैसाथ देशका सातदर्जन भन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजीत बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्य हलहरु पाएको छ ।

‘माघे सक्रान्तीको अवसर पारेर चौका दाउ रिलिज गर्न लागेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म हँसाउने छ’ चलचित्रका सङ्गीतकार समेत रहेका बासकोटाले भने ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्र काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । फिल्मलाई काठमाडौंमा पनि राम्रो शो दिईएको वितरक गोपाल कायस्थले बताएका छन् ।

निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई र तैयव शाह छन् । पाँचौं चौकाको रुपमा अजश्र ढुंगानालाई देख्न पाईन्छ । फिल्मकी एकमात्र ‘मिस्सी’ को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिव शंकर रिजाल लगायतका कलाकार छन् ।

पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरुको युवतीप्रतिको आकर्षण र त्यसले निम्त्याउने परिणाममा यो फिल्म केन्द्रित रहेको छ । फिल्मलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए ।

चौका दाउमा वसन्त श्रेष्ठ र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र सुवास काफ्लेको निर्माण ब्यवस्थापन रहेको छ । यस चलचित्रका दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ । फिल्म अस्ट्रेलियामा समेत प्रदर्शन गरिने भएको छ ।