टिक टकबाट गरुड पुराणकी नायिका भएकी प्रियंका

४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’ की नवोदित अभिनेत्री हुन् प्रियंका सिंह । उनी यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । काठमाडौं, नयाँ बानेश्वरकी प्रियंकालाई उनले अभिनय गरेको ‘बफिन्स ९८’ को म्युजिक भिडियो ‘अन्जानैमा…’ हेरेर निर्देशक सुवास कोईरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् ।

त्यसो त उनी त्यतिबेला टिकटक (म्युजिकल्ली) मा निकै हिट थिईन् । त्यतिबेला सैयौं टिकटक भिडियोमा उनको अभिनय निर्देशक कोईरालालाई मन परेको थियो । टिकटकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हेरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो ।

‘टिकटकमा अभिनय गरे जस्तो सजिलो फिल्ममा नहँदो रहेछ l टिकटक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ’ उनले अनुभव सुनाईन् ।

चलचित्र गरुड पुराणमा उनलाई सबै जसोले मन पराउँछन् । मुख्यत: फिल्मका अभिनेता कर्मा, प्रवीण खतिवडा र कामेश्वर चौरासियाले मन पराउँछन् । पहिलो फिल्ममै आफ़ूले तीनजना नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताईन् ।

प्रियंका स्वभावले कम बोल्ने र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभाव भन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्- ‘गरुड पुराणमा ज्योतिको भूमिका निर्वाह गरेपछि मैले आफूपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्दैछु ।’

पहिलो चलचित्रबाट निकै आशाबादी प्रियंकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छहोला जस्तो लागेको थियो l तर उनीहरुसँग करिव डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो । आफूलाई कर्मा, नाजिर, प्रवीण सबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उनीहरुसँग काम गर्न सजिलो भएको उनले बताईन् ।

म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियंका अहिले पूर्ण रुपमा सिनेमामै आवद्ध छिन् । उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको पनि थियो । तर पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफू यही फिल्ममा व्यस्त रहेको यी नवोदित अभिनेत्रीले बताईन् । गरुड पुरणपछि उनी चलचित्र बृत्तमै अघि बढ्ने योजना सुनाउँछिन् ।