‘एपिक नेपाल म्युजिक अवार्ड’ माघ ४ गते हुँदै, तयारी अन्तिम चरणमा

प्रथम ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ आगामी माघ ४ गते शुक्रबारका दिन ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने भएको छ l आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएका हुन् । समारोहमा लोक, आधुनिक, पप, लोकपप, तामाङसेलो, म्हेन्दोमाया, काँठे, देउडा, पूर्वेली र दशैँ तिहार लगायतका विधाका ६६ सर्जक, कलाकार र प्राविधिककरुले अवार्ड प्राप्त गर्ने छन् भने नेपाली सुगम सङ्गीतका धरोहर भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ ।

यसैगरी समारोहमा विभिन्न संचार संस्थामा लामो समयदेखि क्रियाशील रहेका पत्रकारहरुलाई समेत ‘एपिक नेपाल कला पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिने छ l जस अन्तर्गत  न्युज २४ का रवि लामिछाने, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीस होमका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका  कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी ‘भावुक’, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरा सम्मानित हुने कुरा कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी गराएका छन् । समारोह डिस होमको रमाईलो टेलिभिजन च्यानल र टिभी टुडेबाट प्रत्यक्ष प्रसारण हुने भएको छ भने कार्यक्रम लोकप्रिय संचारकर्मी एवं सिनेकर्मी दिनेश डिसीले संचालन गर्ने छन् ।