माघ ५ गते मनराजा नकर्मी एकल साँझ हुँदै

आगामी माघ ५ गते ‘सङ्गीतकार मनराजा नकर्मी एकल साँझ – २०७५’ नामक कार्यक्रमको आयोजना हुने भएको छ l आज पुष २७ गते ललितपुरको अशोक पार्टी प्यालेशमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो l कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको मेघा हलमा हुने छ भने कलाकारहरुले मानराजा नकर्मीद्वारा सङ्गीतवद्ध लगभग २ दर्जन गीत प्रस्तुत गर्ने छन् l समारोहमा दिनेशराज रेग्मीको संयोजनमा २० जना वाद्यवादकहरुले गीतका म्युजिक ट्रयाक बजाउने छन् भने दुर्गालाल श्रेष्ठ, भीम बहादुर नकर्मी, डा. रामविक्रम सिजापती, डा. कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेश कुमार कार्की, डा. दीर्घसिंह बम, आनन्दरत्न बज्राचार्य, डा. सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट र तुलसी महर्जनका शब्दरचनाका गीतहरू मदनकृष्ण श्रेष्ठ, सङ्गीता प्रधान राना, कुन्ति मोक्तान, धन बहादुर गोपाली, जुजुकाजी रंजित, स्वयम्भूराज शाक्य, निशा देसार, टिका प्रसाईं, सङ्गीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरिता साही, मेनुका पौडेल, र प्रकाश तिमिल्सिना गाउने छन् l जसमध्ये केही गीत नेपाल भाषाका समेत हुने छन् l थप मनोरंजनका लागि मानराजाका लोकप्रिय गीतहरुमा कलाकारले नृत्य समेत प्रस्तुत गर्ने छन् l जहाँ मनराजाकी सुपुत्री लोकप्रिय कलाकार आशिष्मा नकर्मीको समेत नृत्य प्रस्तुति रहने छ l
प्राप्त जानकारी अनुसार कार्यक्रम नेपाल भाषाको एकमात्र टेलिभिजन ‘नेपाल मण्डल टेलिभिजन’ को आयोजनामा हुन गईरहेको हो भने खर्च कटाएर बचेको रकमबाट सङ्गीत क्षेत्रमा समर्पित सर्जक-कलाकारहरुको लागि कल्याणकारी कोषको स्थापना गरिने छ l केही विशिष्ठ व्यक्ति र संचारकर्मीहरुका लागि नि:शुल्क पासको व्यवस्था गरिएको र अन्य दर्शक-श्रोताका लागि रु. ५ हजार, २ हजार, १ हजार र ५ सय दरका टिकट राखिएको कुरा आयोजकले जानकारी गराएका छन् l यो मनराजाको पहिलो एकल साँझ हो l
३० वर्ष भन्दा लामो समयदेखि व्यावसायिक संगीतकर्मीका रुपमा क्रियाशील विशिष्ठ तवलावादक मनराजा नकर्मीका हालसम्म  एकल सङ्गीतमा नेपाली भाषाका १३ वटा र नेपाल भाषाका ९ वटा गीति एल्बम एवं ३ वटा धून सङ्ग्रह प्रकाशन भएका छन् भने उनले ८ वटा चलचित्रमा समेत सङ्गीत दिएका छन् l तवलावादनमा गोल्ड मेडलिष्ट उनी हाल रेडियो नेपालमा मुख्य सङ्गीत संयोजकको रुपमा कार्यरत छन् l