रोयल्टी नतिर्नेलाई नछाडिने, यातायात कार्यालयमा झन्डै हात हालाहालको स्थिति { भिडियो सहित }

रोयल्टीका लागि यातायात कार्यालय पुगेका सङ्गीतका सर्जक, कलाकार र व्यावसायी एवं सेवाग्राहीबीच झन्डै हात हालाहालको स्थिति सिर्जना भएको छ l देशैभरका यातायात कार्यालयबाट सङ्गीत रोयल्टी सङ्कलन भईरहे पनि कर्मचारीहरुको असहयोगका कारण काठमाण्डौ उपत्यकाका यातायात कार्यालयबाट रोयल्टी नउठेपछि तीनवटै रोयल्टी सङ्कलन संस्था सङ्गीत रोयल्टी सङ्कलन समाज, संगीत उत्पादक समाज र प्रस्तोता समाजका पदाधिकारी, कर्मचारी, सर्जक, कलाकार एवं म्युजिक व्यवसायीहरु आज विहीबार २६ गते यातायात कार्यालय ललितपुर, एकान्तकुना पुगी दबाबमूलक कार्यक्रम गरेका थिए l उनीहरू कार्यालय पुग्दा कार्यालय प्रमुख वसन्त प्रसाद पन्थी आफ्नो कार्यकक्षमा नभएपछि सर्जक-कलाकारहरुले कर्मचारीको कार्यकक्षमै प्रवेश गरी रोयल्टी नलिई नवीकरण, नामसारी, रुट इजाजत लगायतका काम नगर्न अनुरोध गर्दै अवरोध गरेका थिए l काममा अवरोध उत्पन्न भएपछि सङ्गीतकर्मी र सेवाग्राहीबीच लामो समय वादविवाद भएको थियो l वादविवादले झडपको स्थिति सिर्जना भएपनि प्रहरीको उपस्थितिका कारण साम्य भएको थियो l
कार्यालयमा कार्यालय प्रमुखको उपस्थिति भएपछि तीनवटै रोयल्टी सङ्कलन संस्थाका पदाधिकारीसंग केहीबेर वार्ता भएको थियो l यातायात निर्देशिकामा सार्वजनिक सवारी साधनले अनिवार्य रोयल्टी तिर्नुपर्ने र अनुसूचीमा स्तरीय सवारी साधन हुनका लागि म्युजिक सिष्टम र डिलक्स हुनका लागि म्युजिक सिष्टमसंगै अडियो-भिडियो समेत हुनुपर्ने कुरा स्पष्ट भएकोले सोही प्रावधानलाई अधार मानी एकान्तकुना यातायात कार्यालयले स्तरीय र डिलक्स सार्वजनिक सवारी साधनबाट भोलिदेखि नै रोयल्टी उठाउन सुरु गर्ने सहमती भएको छ l प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली ६१ अनुसार गीत-सङ्गीतको सार्वजनिक प्रयोगकर्ताले अनिवार्य रुपमा रोयल्टी बुझाउनुपर्ने प्रावधान रहेको छ l रोयल्टी संकलनमा बाधा उत्पन्न गर्ने र दुलोमा बसेर षडयन्त्र गर्नेहरुलाई बाहिर निकालेर कारबाही गरिने कुरा सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले बताएका छन् l यातायात कार्यालयमा भएको घटना जस्ताको तस्तै भिडियोमा हेर्नुहोस्