तेस्रो ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ भब्यताकासाथ सम्पन्न

तेस्रो ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुई मान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् । यस्तै स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिलीबिली दुबै फिल्म सफल भएका  थिए । सो अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुँगानाले चुमिन् । उनले यही वर्ष अन्य विधामा  पनि अवार्ड जितेकी थिइन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्त रुपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक फिल्म छक्का पञ्जा २ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड समारोहमा हासिल गरिन् । यस्तै सह अभिनेताको अवार्ड पनि चलचित्र छक्का पञ्जा २ बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड पनि छक्का पञ्जा २ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते । सर्वोत्कृष्ट छायाकारको अवार्ड पनि चलचित्र छक्का पञ्जा २ बाटै पुरुषोत्तम प्रधानले हासिल गरेका छन् । कलाकार एवम् प्राविधिकबीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र कृबाट रुपा रानाले जितिन् । सङ्गीत तर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पल…ले हासिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गायकको अवार्ड प्राप्त गरे । चलचित्र गायिकाको अवार्ड चलचित्र पर्वको कालेदाइलेबाट मिना निरौलाले हासिल गरिन्

हेल्पिङ ह्यन्ड्स एण्ड हेल्थ एजुकेसन इन्टरनेश्नल प्रेसिडेन्ट नरायण श्रेष्ठ र हलिउडका निर्देशक कलाकार एभ क्रुजको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यसपटक ३५ औं संस्करणको अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक सुरेश दर्पण पोखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरुको योगदानको कदरस्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियानश्रीका अध्यक्ष कृष्ण मल्लले बताए ।

दिवंगत दुई कलाकारको नाममा यहीवर्ष स्थापना गरिएको स्वर्गीय श्री गेहेन्द्र  धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र श्री रामकेशर बोगटी स्मृति सम्मान २०१८ बाट अभिनेता विक्रान्त बस्नेतलाई सम्मनित गरियो ।यस्तै सोही समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेता गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराजा महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुंगानालाई सम्मान गरियो । यस्तै ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशकतर्फ श्याम भट्टराईलाई, अभिनेतातर्फ सुशील क्षत्रीलाई र अभिनेत्रीतर्फ सारङ्गा श्रेष्ठलाई, निर्मातातर्फ प्रेम पौडेल र वितरकतर्फ रायन रेजलाई प्रदान गरियो । नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली मूलका भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेसल अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), ईश्वरराज थापा (क्यानडा), विक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो ।

ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सल्लाह्कार अभिनेता शिब श्रेष्ठ हुन् ।

अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मदुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तीर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुँगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठी लगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए । अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सन्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले गरेका थिए ।