कीर्तिमानी गीतकारको साहित्यिक एवं साङ्गीतिक विमर्श अभियान सम्पन्न

सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्श अभियान सम्पन्न भएको छ । अभियान पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घ संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको थियो । राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विमर्श अभियानका बारेमा गीतकार डा. डीआर उपाध्याय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे ‘निश्चिन्त’, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ ले विस्तृत रुपमा जानकारी गराएका छन् ।

एकै दिनमा एकै गीतकारका सातवटा एल्बम साङ्गीतिक इतिहासमा पहिलो पटक लोकार्पण भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको कुरा प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए ।

प्राप्त जानकारी अनुसार गत मङ्सिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौँडामा कार्यक्रम भएको थियो । दोस्रो चरणको साहित्यिक तथा साङ्गीतिक विमर्श अभियान पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो । चितवनबाट सुरु भएको सो अभियान बुटवल, घोराही, तुलसीपुर, कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हुँदै गोरखामा पुगेर सकिएको थियो ।

देशका विभिन्न ठाउँमा आफूहरु पुग्दा त्यस क्षेत्रको साहित्य, कला र संस्कृतिका बारेमा अझ बढी प्रष्ट हुन सकेको र धेरै बुझ्ने र जान्ने अवसर मिलेको डा. गीतकारले पत्रकार भेटघाटमा बताए । विभिन्न जिल्लाको भ्रमण गर्दा मोफसलमा पनि राम्राराम्रा प्रतिभा लुकेर बसेको कुरा आफूलाई अनुभूति भएको समेत सुरेश घिमिरे ‘निश्चिन्त’ ले बताए । उनले भने– ‘झन्डै एक हजार साहित्यकार, सरोकारवाला निकायका प्रतिनिधि र साहित्य, सङ्गीत प्रेमीसँग अभियानका क्रममा साक्षात्कार गरियो ।’ पश्चिम नेपालमा चलेको अभियानको संयोजन तथा सञ्चालन सञ्चारकर्मी लिलप्रकाश चन्दले गरेका थिए । गीतकार डा. डी.आर. उपाध्यायको एकल रचनामा प्रकाशित सातवटा एल्बलमा बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ ले सङ्गीत भरेका छन् भने देशका थुप्रै वरिष्ठ गायक-गायिकाहरुले स्वर दिएका छन् । साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका हुन् । केही हप्ताअघि जमलस्थित राष्ट्रिय नाचघरको मेघा हलमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छाया’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने ‘प्रणय’ उनको पहिलो गीति एल्बम हो । केही सामाजिक उपन्यास सहित थप गीति एल्बम एकवर्ष भित्र पाठक, स्रोता र दर्शकमाझ ल्याउन लागेको पनि उनले पत्रकार भेटघाटमा जानकारी गराएका छन् ।