गीतकार सङ्घमा सर्वसम्मत नयाँ कार्यसमिति, अध्यक्ष चूडामणि देवकोटालाई पुनः जिम्मेवारी

शनिबार सम्पन्न आठौँ बार्षिक साधारण सभाले सर्वसम्मतिबाट गीतकार सङ्घ नेपालको अध्यक्षमा चूडामणि देवकोटालाई पुनः चयन गरेको छ l कार्यसमितिमा पुराना केही पदाधिकारी पद हेरफेर गर्दै पुनः दोहोरिएका छन् भने केही पदमा नयाँ अनुहार आएका छन् l कार्यसमितिको कुनैपनि पदका लागि निर्वाचन भने भएन l सर्वसम्मतिबाट चयन भएको ११ सदस्सीय नयाँ कार्यसमितिको उपाध्यक्षमा शुभ मुकारुङ, महासचिवमा वसन्त वित्यासी थापा, सचिवमा सुशीला पौडेल, कोषाध्यक्षमा अमृत सुनार देवकोटा र सदस्यहरुमा बालक गुरुङ, रमेश कोईराला, वसन्त थाम्सुहाङ, चन्द्रा चाम्लिङ, सुभास संगम राई र जे. बी. घले सम्योगी चुनिएका छन् l नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको रहने छ l सङ्घको साधारण सभा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको थियो l
वरिष्ठ गीतकारहरु यादव खरेल, किरण खरेल, राजेन्द्र थापा, ड़ा. कृष्णहरि बराल, डा. विमल कोईराला, एस्पी कोईराला, जगतमर्दन थापा, विश्वबल्ल्भ लगायतको उपस्थिति रहेको सो समारोहमा संस्थाका महासचिव शुभ मुकारुङले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरेका महत्वपूर्ण गतिविधिबारे जानकारी गराएका थिए l उनले सङ्घमा हाल ४ सय ६३ जना साधारण र १ सय ३१ आजीवन सदस्य रहेको र संस्थामा आवद्ध गीतकारहरुको विस्तृत प्रोफाइल तयार गरी सरकारी तथा निजी क्षेत्रका सहधर्मी सङ्घ-संस्थाहरुसँगको सहकार्यमा खण्डखण्ड गरी पुस्तक प्रकाशन गर्ने सङ्घको योजना रहेको समेत जानकारी गराएका थिए l यसैगरी समारोहमा सङ्घकी कोषाध्यक्ष सुशीला पौडेलले वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिकवर्ष ०७४/०७५ को आम्दानी र खर्च प्रतुत गरेकी थिईन् l प्रतिवेदन अनुसार ०७५ असार मसान्त सम्ममा सङ्घको खातामा १९ लाख ५७ हजार १ सय १७ रुपैया मौज्दात रहेको छ l साधारण सभामा सङ्घको  अक्षयकोषका लागि १५ लाख रुपैया प्रदान गर्ने गीतकार अमर वान्तु र ११ लाख प्रदान गर्ने गीतकार वसन्त चौधरीप्रति समेत कृतज्ञता प्रकट गरिएको थियो l