कुशल छायाकार/सम्पादक वीरेन्द्र भिडियो निर्देशनमा पनि फड्को मार्दै

कुनै समय मुम्बैका गिनेचुने राम्रा फिल्म सम्पादक मध्येका एक तुलसी घिमिरे पछि गएर नेपालका एक विशिष्ठ कोटीका निर्देशक बने l त्यो बेलाको प्रविधि फरक थियो l चलचित्र ‘क्यान’ मा खिचिन्थ्यो भने सम्पादनका धेरैजसो काम कैंचीले रिल काटेर गरिन्थ्यो l चलचित्र निर्देशनको पढाई या अनुभव दुबै नभएपनि तुलसी घिमिरे सम्पादनको ‘आईडोलोजी’ प्रयोग गर्दै निर्देशक बनेका थिए र उनको यो ‘म्याथड’ सही अर्थमा पनि थियो l एउटा कुशल सम्पादक सम्पादनकै ‘म्याथड’ प्रयोग गरी स्वतः निर्देशक बन्न सक्छ भन्ने उदाहरणको लागि यो प्रसङ्ग उल्लेख गरिएको हो l जुनकुरा अहिले पनि लागू हुन्छ l सम्पादन विशुद्ध प्राविधिक काम भएकोले जतिसुकै उत्कृष्ट निर्देशक भएपनि ऊ स्वतः सम्पादक भने बन्न सक्दैन l तथापि सम्पादन र छायाङ्कनमा भने समान प्रकारका सीपको समेत प्रयोग भएको हुन्छ l अर्थात क्यामेरा चलाउने मान्छेले ‘कटिङ प्वइन्ट’ हरु पनि ख्याल गरेको हुन्छ l
नेपाली म्युजिक भिडियोको क्षेत्रमा उत्कृष्ट कहलिएका छायाकार /सम्पादकहरु मध्येका एक वीरेन्द्र भाट विपिन पछिल्लो समय भिडियो निर्देशकका रुपमा समेत चर्चामा आउन थालेका छन् l उनको मुख्य विधा छायाङ्कन र सम्पादन भएपनि लामो समय अघिदेखि उनी म्युजिक भिडियो निर्देशनमा पनि सक्रिय छन् l पहिलोपटक ०६८ सालमा सन्तोष श्रेष्ठको सङ्गीत र वाङ छिरिङ शेर्पाको स्वर रहेको आधुनिक गीत ‘विरहको वेदना’ को भिडियो निर्देशन गरी निर्देशनमा पाईला बढाएका वीरेन्द्रले पछिल्लो समय निर्देशन गरेको वियोगान्त लोकदोहोरी भिडियो भरखरै युट्युबबाट सार्वजनिक भएको छ l ‘सधैं तिम्रो झल्को माया आँखाको नानीमा’ बोल रहेको यस लोकदोहोरीमा राहुल सङ्गीत र शान्तिश्री परियारको स्वर रहेको छ l यसभन्दा अगाडि छोटो समयमा वीरेन्द्रले निर्देशन गरेका सारिका घिमिरेको आधुनिक गीत ‘दिल टुट्यो’, पूर्ण बि. सी. को आधुनिक गीत ‘तिम्रो खुशी’, जोगेश्वर बुढा र तुलसा मगरको लोकदोहोरी ‘चोखो माया लाको छैन र’, गौरी भट्ट र अशोक नेपालीको देउडा ‘काफल खाने रहरै’, माण्डवी त्रिपाठी र वीरेन्द्र जोहारीको देउडा ‘मै भुल्या तेरी मिठी बातैमा’, आनन्द कार्कीको आधुनिक गीत ‘हजार चोट’, वीरेन्द्र जोहारीको देउडा ‘मा सम्झिन्या कोही भएन’ का भिडियो रिलिज भएका थिए l आफैं भिडियो निर्देशन, छायाङ्कन र सम्पादन समेत गर्दै आएका वीरेन्द्र ग्राफिक र एनिमेशनका पनि कुशल प्राविधिक हुन् l बहुप्रतिभा भएका उनलाई गीत दिएपछि चारतिर नडुली एकै थलोबाट कलाकारहरुले ‘कम्प्लिट’ भिडियो पाउने गरेका छन् l अनगिन्ती भिडियो छायाङ्कन र सम्पादन गरिसकेका वीरेन्द्रले हालसम्म २ दर्जन भिडियो निर्देशन गरेका छन् l

०६० सालदेखि यस क्षेत्रमा आवद्ध भई वरिष्ठ छायाकार रविन्द्र बरालसँग मुभी क्यामेरा र लोकप्रिय भिडियो निर्देशक/सम्पादक निशान घिमिरेसँग सम्पादन सम्बन्धी ज्ञान लिएका पाटन नपा-३, सुकाबैना, बैतडीका वीरेन्द्रले भिडियो निर्देशनका लागि भने कसैलाई गुरु बनाएनन् l गायक, सङ्गीतकार, एरेन्जर सुरेश शाहीसँग मिलेर ‘वर्ल्ड कभर भिडिया’ नामक संस्था खोल्नु अघि भिजन नेपाल, मुनामदन फिल्म्स, माउन्टेन टीभी, च्यानल नेपाल, फोटो भिजन नेपाल, सुनकोशी भिजन, स्टार कल्चर, पन्चामृत मिडिया एण्ड फिल्म्स’ जस्ता संस्थामा भिडियो छायाकार/सम्पादकका रुपमा कार्य अनुभव बटुलेका वीरेन्द्रले विभिन्न वृत्तचित्र र ३ वटा चलचित्रको समेत छायाङ्कन गरेका छन् l सुदूरपश्चिमको एउटा विकट गाउँबाट राजधानी प्रवेश गरी आफ्नै सङ्घर्षले कर्मशील क्षेत्रमा ज्ञान र सफलताको यो विन्दुमा पुग्नु पक्कै पनि सामान्य कुरा भने होइन l अरुलाई सहयोग गर्न र आफूले जानेको कुरा अरुलाई सिकाउन सधैं तत्पर रहने वीरेन्द्र भाट विपिन आफ्नो क्षेत्रमा सबैका प्रिय समेत छन् l