५० लाख पुरस्कार रहेको ‘नेपाल लोक स्टार’ आयोजक टोली प्रदेश दौडाहामा

नेपालकै हालसम्मको ठूलो राशी रु. ५० लाख प्रथम पुरस्कार भएको रियालिटी शो ‘नेपाल लोक स्टार’ को प्रचारप्रसारको लागि प्रदेश दौडाहा सुरु भएको छ l प्राप्त जानकारी अनुसार गत पुष ९ गते गाडीमा ‘नेपाल लोक स्टार प्रचार-प्रसार तथा फारम वितरण समूह’ लेखिएको व्यानर टाँगेर प्रदेश नम्बर १, २ र ३ का लागि एउटा टोली पूर्वतिर र प्रदेश नम्बर ४, ५, ६ र ७ का लागि अर्को टोली पश्चिमतिर प्रस्थान गरिसकेको छ भने दुवै टोलीले टेलिभिजन र रेडियोहरुसंग सम्झौता गरिरहेको रिपोर्टहरु आईरहेका छन् l टोलीका सबैले आयोजक संस्थाले उपलब्ध गराएको रातो क्याप र खरानी-निलो रङ्गको ज्याकेट लगाएका छन् l टोलीले हरेक क्षेत्रमा तोकिएका संचार संयोजकको सहयोगमा आफ्नो कार्यक्षेत्रभित्रका सबै टेलिभिजन र रेडियोहरुसँग सम्झौता गर्ने छन् भने रेडियो र टेलिभिजनले ‘लोक स्टार’ बारे प्रचार-प्रसारका साथै प्रतिस्पर्धामा सहभागी हुन चाहने कलाकारहरुलाई फारम भराउने छन् l दुबै टोली पुस मसान्त सम्ममा रेडियो र टेलिभिजनहरुसँग सम्झौता सम्पन्न गरी काठमाण्डौ फर्कने अनुमान गरिएको छ l
‘नेपाल लोक स्टार’ का संयोजक तथा आयोजक संस्था चाहना मिडिया प्रा. लि. का अध्यक्ष सहदेव कोईरालाका अनुसार उत्तम सुवेदी र रेशम थापाको नेत्तृत्वमा उर्मिला भट्टराई, नमूना अधिकारी लगायतका व्यक्तिहरु पूर्व गएका छन् भने पश्चिम गएको टोलीमा प्रीति आले, रोजी कुँवर, अंशु थापा लगायतका सदस्यहरु रहेका छन् l टोली कार्यक्षेत्रमै रहेको बेला अन्य व्यक्तिहरु समेत काठमाण्डौबाट त्यसतर्फ जाने र काठमाण्डौ बाहिर भएका कतिपय व्यक्तिहरु उतैबाट सामेल हुने कुरा समेत कोईरालाले जानकारी गराएका छन् l यो समाचार लेखिरहँदासम्ममा ‘नेपाल लोक स्टार’ मा प्रतिस्पर्धाका लागि १३ सयले फारम भरिसकेका छन् l
‘नेपाल लोक स्टार’ प्रतियोगिताको पहिलो चरणको अडिशन आगामी माघको पहिलो हप्तादेखि सुदूरपचिमको धनगढीबाट सुरु भई काठमाण्डौमा समपन्न हुने छ भने फागुन पहिलो सातादेखि टेलिभिजन प्रसारण आरम्भ गरिने छ l कार्यकम कम्तिमा ३० शृंखलाको रहने बताइएको छ l अडिशनमा प्रत्यक्ष उपस्थित हुन नसक्नेहरुले प्रथम चरणको अडिशन चाहना मिडिया प्रा. लि. को वेब साईट www.chahanamedia.com, नेपाल लोक स्टारको वेब साईट www.nepallokstar.com ‘नेपाल लोक स्टार’ को मोबाइल एप्सबाट पनि दिन सक्ने छन् l प्रतिस्पर्धामा भाग लिनका लागि कुनै प्रकारको मापदण्ड तोकिएको छैन l यस प्रतिस्पर्धामा नेपाली लोक सङ्गीतका धरोहर जयनन्द लामा, वरिष्ठ सङ्गीतकार, एरेन्जर तथा गायक बि. बि. अनुरागी, लोकप्रिय गायिका सुनिता दुलाल र लोकप्रिय गायक रामजी खाँडले निर्णायकको जिम्मेवारी निभाउने छन् भने लोकसम्राटका नामले सर्वत्र परिचित अग्रज लोक सर्जक कुमार बस्नेत र चर्चित पत्रकार ऋषि धमला कार्यक्रमको सल्लाहकारमा रहेका छन् l