जिनुले आफ्नै बिबाह समारोहमा एल्बम विमोचन गरिन्

गायिका जिनु जोशीले आफ्नै बिबाह समारोहमा एल्बम विमोचन गरेकी छिन् । आभाष जोसीसँग बिबाह बन्धनमा बाँधिएकै दिन बिबाह समारोहमै उनले ‘आभाष’ शीर्षकको एल्बम विमोचन गरेकी हुन् । एल्बम राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनु लगायतले  संयुक्त रुपमा विमोचन गरेका थिए ।

एल्बममा ‘मस्ती, छाया तिमीलाई, तिमीलाई पाउँने आशमा, भनेको थिएँ तिमीलाई, भिजेको नजरले नहेर, कोही यहाँबाटै, एकान्तमा हाँस्थें र रमाउने छौ जीवनमा’ गरी आठ गीत समावेश गरिएको छ । जिनुको एकल स्वर रहेको यस एल्बममा आभाष जोशीको शब्द र सङ्गीत संयोजन रहेको छ ।
विगत दश वषदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय मीठो स्वरकी धनी गायिका जिनु जोशीले शब्द, सङ्गीत र गायन तीनै विधालाई सँगसँगै अघि बढाइरहेकी छिन् । थुप्रै कलेक्सन एल्बमहरुमा पनि स्वर दिएकी उनले यसअघि आधुनिक गीति एल्बम ‘प्रारम्भ’ र भजनसङ्ग्रह ‘माधवनारायण’ प्रकाशन गरिसकेकी छिन् ।

बाल्यकालदेखि नै गायनमा रुचि भएको भएता पनि  स्कुले गायन प्रतियोगितामा प्रथम उपाधि हासिल गरेपछि साथी सङ्गीहरुको हौसला र घरपरिवार, खासगरी मावली हजुरआमाको सहयोगले निरन्तर यस क्षेत्रमा लागिरहने प्रेरणा मिलेको जिनुले बताइन् ।