चलचित्र ‘कोपिला’ को शुभ मुहूर्त

सामाजिक कथावस्तु बोकेको चलचित्र ‘कोपिला’ को शुभ मुहूर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको आईतबार चितवनको हाकिमचोकमा रहेको मालिका मन्दिरमा मुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहोनलाल प्रधान प्रमुख अतिथि  रहेका थिए  । वरिष्ठ चलचित्रकर्मी ऋद्धिचरण श्रेष्ठले शुभ मुहूर्त  सर्टको निर्देशन गरेका थिए  भने  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले क्ल्याप दिएका थिए । यसैगरी समाजसेवी गेरेन्द्र मानन्धरले नरिवल फुटाएका थिए । कार्यक्रममा चलचित्रका कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहूर्त सटमा अभिनय गरेका थिए ।
मुहूर्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले ‘कोपिला’ लाई सफलताको शुभकामना दिएका थिए । मुहूर्त समारोहमा चलचित्रका बारेमा आफ्ना विचार राख्दै चलचित्रका लेखक तथा निर्देशक शिवम अधिकारीले ‘कोपिला’ हाम्रै गाउँ समाजमा घट्ने घटनामा आधारित चलचित्र रहेको जानकारी गराएका थिए । चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले यसअघि आफूले निर्माण गरेको ‘पञ्चायत’ जस्तै ‘कोपिला’ पनि सामाजिक कथावस्तुमा आधिरित रहेको बताए । गणेश गिरीको प्रस्तुति रहेको ‘कोपिला’ मा चलचित्र पत्रकार मणिराज गौतम र चितवनका युवा व्यवसायी करुणकर घिमिरेको लगानी रहेको छ भने सुवास काफ्ले कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा समिर मिया, रामेश्वर  कार्की सह निर्माताको रुपमा रहेका छन् ।

चलचित्र ‘कोपिला’ मा सरिता गिरी, गणेश गिरी, संजिवनी खरेल, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रकृति खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने बताईएको छ । चलचित्रमा रमेश्वर कार्कीको छायाङ्कन, समिर मियाको सम्पादन र दीपक शर्माको सङ्गीत रहने छ । चितवन आसपासमा छायाङ्कन गरिने यस चलचित्रमा  करिव  ८० लाख लगानी हुने अनुमान गरिएको छ ।