चौका दाउको २ पोष्टर सार्वजनिक

यही २७ पुषबाट देशब्यापी रुपमा रिलिज हुने चलचित्र ‘चौका दाउ’ को फस्ट लुक्सको रुपमा तीनओटा पोष्टर रिलिज गरिएको  छ । एक साताअघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आईतबार पोष्टर रिलिज गरेको हो ।

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको ‘चौका दाउ’ पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यो चालचित्रको पोष्टरमा मुख्य कलाकारहरुलाई भिन्न भिन्न चरित्रमा उतारिएको छ । सार्वजनिक भएका दुई मध्ये एउटा पोष्टरमा सिनेमाका चार जुवाडे रविन्द्र झा, विल्सन विक्रम राई, तैयब शाह र सन्तोष पन्त जुवा हारेपछि नाङ्गै गाडीमा घर फर्किएको देखाईएको छ । जसमा कलाकार सोनिका केसीलाई मदिराको सुराही सहित प्रस्तुत गरिएको छ ।

अर्को पोष्टरमा रविन्द्र झलाई मधेसी, सन्तोष पन्तलाई शिख, तैयव शाहलाई मुस्लिम र विल्सन विक्रम राईलाई हिमाली भेषमा उतारिएको छ । यही पोष्टरमा यी चारजना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ । साथै अभिनेता अजश्र ढुङ्गाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशँकर रिजाल (जोगिन्दर पानवाला) लाई पनि समेटिएको छ । अर्को सिक्स सिटरको पोष्टरमा  पनि यी सबै कलाकारलाई समेटिएको छ ।

‘चौका दाउ’ का परिकल्पनाकार वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटा हुन् । साँढे चार दशकदेखि आफू चलचित्र एवम् सङ्गीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन ‘चौका दाउ’ निर्माण गरेको उनले बताएका छन् । ‘चौका दाउ’ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, सङ्गीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको यो चलचित्रको छायाकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा वसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यवस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दै छ ।

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुङ्गाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतको अभिनय छ ।