विद्यालयमा बृहत् साङ्गीतिक कार्यक्रम

श्री सिपा तीनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सव कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत् साङ्गीतिक कार्यक्रमको आयोजना गरी मनाईएको छ । समारोहमा काठमाडौबाट निमन्त्रणा गरिएका वरिष्ठ कवि, गीतकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’, गायिका सङ्गीता रायमाझी र रितिका जिरेल, गायक सूर्य कमल राई, आसमान लोचन, रोशन कुमार श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए भने गीतको तालमा बच्चादेखि बूढाबूढी सबै नाचेर रमाएका थिए ।

मनोरञ्जनको लागि नृत्य लगायत अन्य विविध प्रस्तुतिहरु समेत रहेका थिए । कार्यक्रममा नृत्य प्रस्तुत गर्ने विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई सिल्ड र प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित भाग्य (गीतिनाटक), अनुष्का (उपन्यास), मिस्ड कल (उपन्यास), अदभूत (उपन्यास) लगायतका ३ दर्जन पुस्तक विद्यालयको पुस्तकालयको लागि उपहार स्वरुप प्रदान गएको थियो भने उपस्थित गाउँ पालिकाका सम्पूर्ण दर्शक स्रोतालाई नि:शुल्क पुस्तक समेत प्रदान गरिएको थियो ।

छत्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो समारोहमा   इन्द्रावती गाउँ पालिकाका अध्यक्ष वंशलाल तामाङ प्रमुख अथितिको रुपमा उपस्थित रहेका थिए भने उपाध्यक्ष मिरा अधिकारी लामा र विद्यालयका अध्यक्ष श्याम रम्तेल लगायत विशेष अतिथिका रुपमा उपस्थित थिए l कार्यक्रम महेन्द्र कुमार तामाङले संचालन गरेका थिए ।
‘एजुकेशन एण्ड लाइभ हुड-पार्टनरसिप’ (HELP) नामक संस्थाले विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम जस्ता शैक्षिक सामग्रीहरु नि:शुल्क वितरण गरेको थियो  । २०७२ सालको भुकम्पपछि ‘प्लान इन्टरनेशनल नेपाल’ र ‘नेपाल युथ फाउन्डेसनद्वारा’ विद्यालयको पुन: निर्माण गरिएको थियो ।