चलचित्रका थप ७ विधा सहित ‘नेपाल म्युजिक अवार्ड’ को आवेदन खुल्यो

केही दिनअघि मात्र पत्रकार सम्मेलनको आयोजना गरी हालसम्मकै सबैभन्दा ठूलो राशी रु. ५० लाख प्रथम पुरस्कार भएको रियालिटी शो ‘नेपाल लोक स्टार’ को औपचारिक घोषणा गरेका सहदेव कोईरालाले ‘नेपाल म्युजिक अवार्ड’ को दोस्रो संस्करणको लागि आवेदन फारम खुला गरिएको जानकारी गराएका छन् l कोईरालाका अनुसार गत डिसेम्बर २० अर्थात् पुष ५ गतेबाट नै आवेदन खुला गरिएको छ भने आगामी सन् २०१९ को जनवरी ३१ अर्थात् माघ १७ सम्म फारम खुला रहने छ l गतबर्ष झैं यसबर्ष पनि अनलाईन र चाहना मिडिया प्रा. लि. बाट वितरित फारम दुबै माध्यमबाट आवेदन दिन सकिने छ l अघिल्लो वर्ष अवार्डमा प्रतिस्पर्धात्मक ३८ विधा रहेकोमा यसबर्षदेखि गीत-सङ्गीतसँग सम्वन्धित चलचित्रका ७ विधा थप गरी ४५ विधा कायम गरिएको छ l तथापि लाइफटाइम एचिभमेन्ट अवार्ड, दशक स्रष्टा सम्मान, लोक साहित्य सम्मान, सङ्गीत पत्रकारिता सम्मान लगायत जुरी अवार्ड, इन्करेजमेन्ट अवार्ड, पव्लिक च्वाइस अवार्ड, एसएमएस अवार्ड आदि थप विधा सहित समारोहमा कूल ५५ विधाका सर्जक, कलाकार, प्राविधिक र पत्रकारहरुले सम्मान, पुरस्कार एवं अवार्ड प्राप्त गर्ने छन् l
आयोजक संस्था चाहना मिडिया प्रा. लि. का अध्यक्ष सहदेव कोईरालाका अनुसार आगामी फेब्रुअरी १५ मा उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिने छ भने सोही बेला लाइफटाइम एचिभमेन्ट अवार्ड, पत्रकारिता सम्मान लगायतका पुरस्कार तथा सम्मान पाउने केही व्यक्तिहरुको पनि नाम घोषणा हुने छ l गतबर्षको अवार्डमा जुरीको नाम सार्वजनिक नगरिएको भएपनि यसपटक विधागत राखिएका २१ जना जुरीको नाम समेत सार्वजनिक गरिनेभएको छ l अवार्ड समारोह गतवर्ष झैं मे ५ का दिन पाँचतारे होटल अन्नपूर्णमा भव्य रुपमा आयोजना हुने छ l