११ बर्षीय आर्जनले जन्मदिनमा आफ्नै आमाको गीत गाए

आऊ है साथी वगैंचामा पुतली झैं उडौं
फूलका अङ्ग अङ्ग चुम्दै रमाउँदै डुलौं

जन्मदिनको अवसरमा बाल कलाकार आर्जन खनालको पहिलो गीत रेकर्ड भएको छ l गत पुष १ गते जन्मदिनका अवसरमा अनामनगरस्थित सुर सङ्गीत रेकर्डिङ स्टुडियोमा आफ्नै आमा अन्जना पौडेलको शब्दरचना र रेखा पौडेलको सङ्गीतमा बालगीत रेकर्ड गरी कलिलो उमेरमै उनले औपचारिक रुपमा गायन यात्रा आरम्भ गरेका छन् l ११ बर्षीय आर्जन स्वयम्भूस्थित एक्सेल्सिएर स्कूलमा कक्षा ६ मा पढ्छन् l ‘छिट्टै यो गीतको भिडियो बनाउने र अरु केही गीत रेकर्ड गरी एल्बम नै प्रकाशन गर्ने योजना छ’ गीतकार तथा बालगायक आर्जनकी आमा अन्जना पौडेलले जानकारी गराईन् l
गायनका साथसाथै पढाई र अतिरिक्त क्रियाकलापहरुमा समेत उत्तिकै प्रतिभाशाली बालक आर्जन सेन्ट जेभियर्स स्कूलद्वारा आयोजित ‘लेखकसँग बालबालिका’ नामक कार्यक्रम, ‘नेपाल भारत लिटरेचर फेस्टिभल’ र विद्यालयमा आयोजना भईरहने आन्तरिक कायक्रमहरुमा पनि पटक पटक पुरस्कृत भएका छन् l उनी ‘बाल संसार’द्वारा आयोजित ‘बाल संसार ट्यालेन्ट हन्ट’ नामक कार्यक्रममा पनि ३ सय ५० बालबालिका मध्येबाट ‘टप-१०’ विजेता बन्न सफल भएका थिए l आर्जनले रेखा पौडेलसँग ३ महिना सङ्गीत सिकेका छन् l ‘आर्जनमा भरपूर प्राकृतिक क्षमता छ l तरपनि उनले अझै धेरै सिक्न र मेहेनत गर्न बाँकी नै छ l सङ्गीतकर्मलाई निरन्तर अगाडि बढाईरहे भने उनको साङ्गीतिक भविष्य उज्ज्वल हुने छ भन्ने मलाई पूर्ण विस्वास छ’ सङ्गीतकार रेखा पौडेल भन्छिन् l

आर्जन गीतकार अन्जनाका सानो छोरा हुन् l सानैदेखि कविता लेख्ने गरेकी अन्जनाको भने ०७३ सालमा पहिलोपटक गीत रेकर्ड भएको थियो l हालसम्म उनका ४ वटा गीत रेकर्ड भईसकेका छन् l ‘शताव्दी साहित्य प्रतिष्ठान’की अध्यक्ष समेत रहेकी गीतकार अन्जनाका हालसम्म ‘जब वेदना फुल्यो’ {कथासङ्ग्रह }, ‘हिउँ खस्ने पर्वत’ र आरुबारीको फूल’ { हाईकुसङ्ग्रह } प्रकाशित भएका छन् l ‘लम्जुङ पत्र साप्ताहिक’ की सम्पादक र त्रिचन्द्र कलेजकी प्राध्यापक समेत रहेकी अन्जना यतिबेला सङ्गीतकार रेखा पौडेलसँगको सहकार्यमा एकल शब्दरचनाको गीति एल्बम निकाल्ने योजनामा रहेकी छिन् l उनी विभिन्न कविता प्रतियोगिताहरुमा निर्णायक समेत बस्दै आएकी छिन् l ‘बाबू  आर्जनले गायनमा केही गर्न सक्ने सम्भावना महसुस गरेर नै गीत रेकर्ड गरिएको हो l र भविष्यमा पनि यो कर्मलाई निरन्तरता दिने योजनामा छु’ गीतकार अन्जनाले बताईन् l