पुष २१ मा गीतकार सङ्घको चुनावी साधारणसभा

आगामी पुष २१ गते ‘गीतकार सङ्घ नेपाल’ को  आठौँ तथा चुनावी साधारणसभा हुने भएको छ l केहीदिन अघि सङ्घले आफ्नो फेसबुक पेज मार्फत सूचना सार्वजनिक गर्दै साधारण सभामा मताधिकारको प्रयोग गर्नका लागि सदस्यता नवीकरण अनिवार्य भएकोले तोकिएको मितिभित्र नवीकरण गरिसक्न सबै सदस्यहरुलाई अनुरोध गरेको थियो l सङ्घमा हाल गीतकार चूडामणि देवकोटा नेत्तृत्वको कार्यसमिति रहेको छ भने विधान अनुसार हरेक कार्यसमितिको कार्यकाल २ बर्षको रहने गरेको छ l
नेपालकै सम्पूर्ण गीतकारहरुको छाता संगठन ‘गीतकार सङ्घ नेपाल’ को स्थापना २०६७ साल जेठ १४ मा भएको थियो l वरिष्ठ गीतकार डा. कृष्णहरि बराल संस्थापक अध्यक्ष रहेको यस संस्थामा वर्तमान अध्यक्ष चूडामणि देवकोटा भन्दा पहिला गीतकार योगेन्द्रमणि दाहालले नेत्तृत्व सम्हालेका थिए l यादव खरेल, किरण खरेल, रत्नशम्शेर थापा, कालीप्रसाद रिजाल, राजेन्द्र थापा, एस्पी कोईराला, श्रीपुरुष ढकाल लगायतका अग्रजदेखि नयाँ पुस्ताका गीतकारहरुसम्मको सदस्यता रहेको यस सङ्घले आफ्ना सदस्यहरुलाई बार्षिक रुपमा भिभिन्न शीर्षकका पुरस्कार तथा सम्मान समेत अर्पण गर्दै आएको छ l यसअघि सङ्घमा कहिले मतदानबाट त कहिले सर्वसम्मतिबाट कार्यसमिति पदाधिकारीहरुको चयन हुँदै आएकोमा यसपटक के हुने हो भन्ने कौतुहलता हालसम्म कौतुहलतामै रहेको छ l