१० बर्षीय बालिका बालत्कार गरी मार्ने कुशुमलाई जन्मकैद

पोखरा, पुम्दीभुम्दीकी १० बर्षीय श्रीया बिकको बलात्कार पछि हत्या गरेका छिमेकी कुशुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला सुनाएको छ । मुलुकी अपराधसंहिता २०७५ लागू भएपछि यो नेपालकै पहिलो जन्मकैद फैसला हो ।

गत असोज महिनामा १० बर्षीय श्रीया बिकको हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै स्थानीय छिमेकी कुशुम पौडेललाई उनकै घरबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर बेहोस बनाई बेहोस अवस्थामै उनको यौनाङ्गमा औंला हालेको र पछि टाउकोमा ढुंगाले प्रहार गरेर हत्या गरेको कुशुमले स्वीकार गरेका थिए ।

मुलुकी अपराधसंहिता २०७५ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर अदालतबाटै आदेश आएको यो पहिलो भएको प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।