भक्तपुरमा ‘दीपक खरेल साँझ- २०७५’ को आयोजना हुने

‘भक्तपुर साङ्गीतिक समाज’ को आयोजनामा गायक दीपक खरेलको एकल गायनको कार्यक्रम ‘दीपक खरेल साँझ २०७५’ हुने भएको छ । आज एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । कार्यक्रम यही पुष २८ गते हुने भएको छ । ‘भक्तपुर साङ्गीतिक समाज’ को एकल आयोजनामा भक्तपुरको इम्पेरियल बेङ्केट, सल्लाघारीमा हुन गइरहेको सो कार्यक्रममा अग्रज गायक दीपक खरेलले आफ्ना चर्चित मध्येबाट १५ वटा गीतहरु प्रत्यक्ष  सङ्गीतमा पस्किने जानकारी गराइएको छ । खरेललाई वाद्यवादनमा नेपालको चर्चित ब्याण्ड ‘द लिजेण्ड ब्याण्ड’ ले साथ दिने छ । गतसाल स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल स्मृति  साँझ २०७४’ को सफल आयोजना गरी हौसिएको समाजले यस्तै प्रकारको कार्यक्रम प्रत्येक बर्ष गर्ने उद्देश्य अनुरुप यसपाली ‘दीपक खरेल साँझ’ को आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष प्रवीण शाहीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
पत्रकार सम्मेलनमा उपस्थित गायक खरेलले ‘पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन’ गर्ने समाजको अभियानलाई सहयोग गर्ने उद्देश्यले आफूले प्रस्तुति दिन लागेको र नयाँ पुस्ताले बिर्सदै गइरहेको सुगम सङ्गीतको उत्थानलाई पनि यस्ता कार्यक्रमले थप टेवा मिल्ने बिचार ब्यक्त गरे । समाजका सल्लाहकार तथा वरिष्ठ रचनाकार सुवासचन्द्र ढुङ्गेलले दीपक खरेल जस्तो कहलिएका कलाकारको साङ्गीतिक प्रस्तुतिले  भक्तपुरको साङ्गीतिक बिकासमा थप टेवा मिल्ने र कार्यक्रमलाई सबैतिरबाट सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरे । ‘दीपक खरेल साँझ’ कार्यक्रमका संयोजक तथा समाजका सचिव अल्बर्ट बज्राचार्यले विगतको कार्यक्रममा झैं यसपाली पनि सबै दर्शक श्रोताहरुले भक्तपुर साङ्गीतिक समाजको यो प्रयासलाई साथ दिनुहुने छ भनि सबै पक्षसँग सहयोगको लागि अनुरोध पनि गरे । सो पत्रकार सम्मेलनमा मिडिया संयोजक सुमन रन्जितकारले सबै  सन्चारकर्मीहरुलाई समाजको हाल सम्मको गतिविधिको जानकारी गराउदै यो कार्यक्रमको सफलताले पाश्चात्य सङ्गीतको बढ्दो प्रभावबीच नेपाली सुगम सङ्गीतलाई बचाईराख्ने कुरामा सानो भएपनि योगदान दिने छ भन्ने विस्वास ब्यक्त गरे । ‘हुन लागेको कार्यक्रम भब्य र सभ्य बनाउने कुरामा म र मेरो सम्पूर्ण इम्पेरियल बेङ्केट टिमले सक्दो सहयोग गर्ने छ’ बेङ्केटका प्रमोटर तथा युवा उद्यमी रोमन सिलाकारले आफ्ना विचार राखे ।