भाषा र साहित्यका पुजारी

भूटानको सर्बाङ्ग जिल्ला अन्तर्गत सुरे ब्लकको बेतिनी गाउँमा जन्मिएका बैरागी माइलाले सानै उमेरमा जन्मभूमिबाट वियोग हुनु पर्यो । नेपालको झापा जिल्लामा दुईदशक लामो कहालीलाग्दो जीवन भोगाईपछि माइला र उनको परिवारले तेस्रो देश पुनर्वास रोज्न पुगे । माइला हाल सपरिवार अमेरिकामा  बसोबास गर्छन् । आजभन्दा डेढ दशक  पहिलाबाट भाषा र साहित्यको विकास अनि संरक्षणमा अनवरत चर्चामा आएको नाम हो- बैरागी माईलो । मातृभाषालाई संरक्षण गर्ने हेतुले सन् १९९० देखि आजसम्म   भित्ते पत्रिकाको सम्पादन गर्दै उनी साहित्य चौतारी समूह, बाल मन्च र युवा मैत्री केन्द्रमा स्वतस्फूर्त रूपमा उर्जाशील एवं  क्रियाशील भएर लागिपरेका छन् । उनी एक कुशल पत्रकार अनि उद्घोषक समेत हुन् ।

यसरी नै संयुक्त राज्य अमेरिकाको व्यस्त जीवनमा पनि अनवरत रूपमा उनको कलम चलिरह्यो । सन् २०१४ मा बहुजाति र बहुभाषीलाई एउटै मालामा सजाउने मनसायले उत्साही युवाहरुद्वारा ‘मातृभाषा संरक्षण समूह’ को स्थापना भएको थियो । धर्मेन्द्र  तिम्सिना ‘क्षितिज’ र नारद आचार्य ‘सुदामा’ को यो प्रयासलाई बैरागी माइलाले काँध हाले । यस समूहले हालसम्म ८ वटा  कृतिहरू प्रकाशन गरेर भाषा र साहित्यको दरवारमा ईंटा थप्ने काम गरेको छ भने दर्जनौ नव श्रष्टाहरू  पनि जन्माएको छ । सन् २०१७ मा स्थापना भएको ‘त्रिवेणी साहित्य मञ्च’ हेरिस्वर्ग पेन्सिलभेनियामा उपाध्यक्षको  कार्यभार समालेर माइलाले आफ्नो कार्य कौशलता समेत  प्रदर्शन गरेका छन् । बैरागी एक कुशल गजलकार मात्र हैनन्  गीतकार पनि हुन् भन्ने प्रमाण ‘सुसेली हाली बोलाउँदा’ गीत गजल र ‘साहुकी छोरी’ जस्ता रेकर्डेड गीतले पनि प्रमाणित गरिसकेका छन् । बैरागी माइलाको एकल गजलसंग्रह  ‘कुलागाडीको फेदीबाट’ देश बोल्ने कृति हो । यसैगरी एकल कृतिका अतिरिक्त ‘समुन्द्र पारिका कलमहरू’ {संयुक्त गजलसंग्रह} लगायत आधा दर्जनजति संयुक्त गजलसंग्रहमा उनका गजल संग्रहित छन् । माइलाको भाषामा  शुद्धता निक्कै राम्रो देखिन्छ । उनलै हालसम्ममा तीनवटा कृतिको सम्पादन गरिसकेका छन् । कृति सम्पादन गर्नु चानचुने कुरा होइन । सुशील स्वभाव र मुस्कुराउदै बोल्ने माइला असल व्यक्तित्वका कारण पनि सबैका प्रिय छन् । उनको दक्षता र सक्रियताको मूल्यांकन गर्दा भविष्यमा उनले भाषा र साहित्य विधामा राम्रो पहिचान स्थापित गर्ने छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । बैरागी मातृभाषालाई जननी सम्झन्छन् । यसरी आफ्नो मातृभाषाको माया र सम्मान गर्ने मान्छे विरलै भेटिन्छन् । बैरागी माइलाको शब्दमा नयाँ गीत ‘साहुकी छोरी’ आउन लागेको छ । जसका सङ्गीतकार सुनिल राई हुन् भने गीतमा प्रताप दासको स्वर  रहेको छ ।