नेपाल लोक स्टारको औपचारिक घोषणा, प्रथम हुनेलाई ५० लाख पुरस्कार

चाहना मिडिया प्रा. लि. को आयोजनामा सम्पन्न हुन गईरहेको लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को औपचारिक घोषणा भएको छ l गत मङ्सिर १ गते दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको घोषणा गरिएको हो l प्रतिस्पर्धामा प्रथम हुनेलाई नगद रु. ५० लाख, द्वित्तीय हुनेलाई रु. २५ लाख र तृतीय हुनेलाई रु. १० लाख प्रदान गरिने कुरा आयोजकले जानकारी गराएका छन् l आउँदो माघको पहिलो साताबाट अडिसन सुरु भई फागुनको पहिलो सातादेखि प्रसारण आरम्भ गरिने यस प्रतिस्पर्धाका लागि सातै प्रदेशबाट अडिशन लिईने छ भने अडिशनमा प्रत्यक्ष उपस्थित हुन नसक्नेहरुले प्रथम चरणको अडिशन चाहना मिडिया प्रा. लि. को वेब साईट www.chahanamedia.com, नेपाल लोक स्टारको वेब साईट www.nepallokstar.com ‘नेपाल लोक स्टार’ को मोबाइल एप्सबाट पनि दिन सक्ने छन् l प्रतिस्पर्धामा भाग लिनका लागि कुनै प्रकारको मापदण्ड तोकिएको छैन l
नेपालको हालसम्मकै सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको यस प्रतिस्पर्धामा नेपाली लोक सङ्गीतका धरोहर जयनन्द लामा, वरिष्ठ सङ्गीतकार, एरेन्जर तथा गायक बि. बि. अनुरागी, लोकप्रिय गायिका सुनिता दुलाल र लोकप्रिय गायक रामजी खाँडले निर्णायकको जिम्मेवारी निभाउने छन् भने लोकसम्राटका नामले सर्वत्र परिचित अग्रज लोक सर्जक कुमार बस्नेत र चर्चित पत्रकार ऋषि धमला कार्यक्रमको सल्लाहकारमा रहेका छन् l कार्यकम कम्तिमा ३० शृंखलाको रहने बताइएको छ l

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सातै प्रदेशबाट ७० देखि १०० उत्कृष्ट प्रतिस्पर्धीको छनोट गरी काठमाण्डौ ल्याईने छ र विभिन्न चरणका थप प्रतिस्पर्धा गराईने छ l यो कार्यक्रम हालसम्मकै रियालिटी शोहरु मध्ये सबैभन्दा धेरै टेलिभिजन नेपाल टेलिभिजन, एपी वान एच. डी., प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट एकैसाथ हरेक सोमबार साँझ ७ देखि ८ बजेसम्म १ घण्टा प्रसारण हुने छ l यसैगरी ‘नेपाल लोक स्टार’ को मोबाइल एप्स, युट्युब च्यानल र फेसबुक पेज तथा एपी वान एचडीको फेसबुक पेजबाट समेत हेर्न सकिने छ l कार्यक्रम कलाकार शुभेच्छा खड्का र हास्य कलाकार अशोक धितालले संचालन गर्ने छन् l
आयोजकका अनुसार प्रदेशबाट गरिने र उत्कृष्ट ५० सम्मको छनोटमा निर्णायकहरुमै सर्वाधिकार हुने छ भने ५० पछिको उत्कृष्ट ३० सम्मको छनोटमा ८० प्रतिशत निर्णायकको नम्बर र २० प्रतिशत भोटिङको आधार हुने छ l यसैगरी उत्कृष्ट ३० बाट उत्कृष्ट २० को छनोटमा ६० प्रतिशत निर्णायकको नम्बर र ४० प्रतिशत भोटिङ, उत्कृष्ट ३० बाट उत्कृष्ट १० को छनोटमा निर्णायक र भोटिङको ५०-५० प्रतिशत र उत्कृष्ट १० बाट फाइनलसम्मको सम्पूर्ण निर्णय २० प्रतिशत निर्णायकको र ८० प्रतिशत अनलाइन तथा एसएमएस भोटिङको आधारमा हुने छ l लोक सङ्गीतप्रति समर्पित सर्जक-कलाकारहरुको कदर, मूल्यांकन र सम्मान गर्दै थप प्रोत्साहन दिन एवं देशको मौलिक पहिचानको एउटा महत्वपूर्ण पाटो लोक सङ्गीतको संवर्द्धन, प्रवर्धन र विकाशको लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा आयोजकले बताएका छन् l हाईलाइट्स नेपालका अध्यक्ष एवं यस रियालिटी शोका निर्माता भारत बस्नेतको सभापतित्वमा सम्पन्न सो पत्रकार सम्मेलनमा चाहना मिडिया प्रा. लि. का अध्यक्ष तथा अवार्ड संयोजक सहदेव कोईरालाले पत्रकारहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिएका थिए भने पत्रकार सिलु अधिकारीले कार्यक्रम संचालन गरेकी थिईन् l

press meet program video