शशी र लक्ष्मीको ‘शुभारम्भ’ सार्वजनिक

गायक तथा सङ्गीतकार शशी घिमिरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ एक समारोहबीच सार्वजनिक भएको छ । यही मङ्सिर २९ गते शनिबार वरिष्ठ लोक गायक कुमार बस्नेत, वरिष्ठ गायक-सङ्गीतकार सूर्य थुलुङ, वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, लोकप्रिय गायक–सङ्गीतकार नरहरि प्रेमी, संचारकर्मी तथा अभिनेता भोलादीप तिमिल्सिना लगायतले एल्बम संयुक्त रुपमा विमोचन गरेका हुन् ।

हिमालयन पिक्चर्सको आयोजनामा सम्पन्न कार्यक्रममा गायक शशीले लामो समयको अभ्यासपछि अहिले आएर आफ्ना गीतलाई एल्बमको रुपमा प्रकाशन गर्न पाएकोमा खुशी ब्यक्त गरे । त्यसैगरी रचनाकार लक्ष्मीले आफूले बच्चैदेखि गीत रचना गर्ने गरेको भएपनि एल्बमका रुपमा भने ‘शुभारम्भ’ नै पहिलोपटक बजारमा आएकोले नाम पनि ‘शुभारम्भ’ राखिएको बताइन् ।

समारोहमा एल्बमको गीतका बारेमा समीक्षात्मक टिप्पणी गर्दै डा. कृष्णहरि बरालले ‘शुभारम्भ’ का सबै गीत उत्तिकै सुमधुर रहेको बताएका थिए । उनले लक्ष्मीको रचना र शशीको गायनमाराम्रो तालमेल मिलेको समेत धारणा राखे ।  कुमार बस्नेतले नेपाली साङ्गीतिक फाँटमा शशी र लक्ष्मीको शुभारम्भलाई शुभकामना ब्यक्त गरे । गायक नरहरिले शुभारम्भमा समावेश प्रत्येक गीतको भावार्थ प्रस्तुत गर्दै लक्ष्मीको रचनाशिल्प र शशीको गायनकलाको तारिफ गरेका थिए ।

कार्यक्रममा एल्बममा समावेश ‘सपनीमा डुल्छ्यौ तिमी’ बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो । नारायण ओलीको सङ्गीत रहेको सो गीतको भिडियोमा महावीर विश्वकर्मा, आस्मा घिमिरे र कृष्णराज तिमल्सिनाले अभिनय गरेका छन् । भोलादीप तिमिल्सिनाले निर्देशन गरेको सो भिडियो रोहित विक्रम कार्कीले खिचेका हुन् । कार्यक्रममा गायक शशीले आफ्नो गायन यात्रा अब अनवरत अघि बढ्ने बताए ।