झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ अब चलचित्रमा

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो । ८ वर्ष अघि नै निर्माण आरम्भ गरिएको यो चलचित्रको निर्माण सम्पन्न भए पश्चात ‘च्यारिटी’ गरिंदै आएको थियो l आम दर्शकहरुको कौतुहलताको विषय बनिरहेको यो चलचित्र अब भने हलमा प्रदर्शन हुने निश्चित भएको छ l चलचित्रको सम्पूर्ण छायांकन धनकुटास्थित झमककै घरमा गरिएको कुरा निर्माण पक्षले जानकारी गराएको छ l

२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक विनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धिरेन शाक्य, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नेपाल पत्रकार संघ काठमाडौं शाखाका अध्यक्ष शान्तिराम बिडारी, चलचित्रकी कलाकार सारिका घिमिरे, कलाकार किशन सुनवार,  छयाकार शिव ढकाल, नृत्य निर्देशक कमल राई लगायतले चलचित्रको पोष्टर सार्वजनिक गरेका थिए ।

विशाल गौतमको सहजीकरणमा भएको कार्यक्रममा बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिलेकाहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको यो चलचित्रले समाजलाई प्रेरणा दिने छ भन्ने कुरामा आफू विस्वस्त रहेको रहेको कुरा चलचित्रका निर्माता तथा निर्देशक विनोद विष्टले बताएका छन् ।

चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् l अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिहरुले चलचित्रको सफलताको शुभकामना दिएका थिए ।

घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाकन गरिएको यस चलचित्रका निर्माता विनोद विष्ट भारतको सिलगुडीका हुन् । चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबी लगायत रहेका छन् ।