डान्सिङ शैलीको गीत ‘अंग्रेजी सिकेर’ मा विजय रुम्बा

लामो समय भिडियो कोरियोग्राफी र नृत्य निर्देशनको क्षेत्रमा अनुभव बटुलिसकेका व्यक्ति विजय रुम्बाको पहिचान अब गायन क्षेत्रमा पनि बन्दै गईरहेको छ । केही गीतमा स्वर पस्किएर सङ्गीत बजारमा आफ्नो उपस्थिति जनाईसकेका गायक/निर्देशक विजय रुम्बा डश म्युजिक टीमसंगको सहकार्यमा अब चाँडै नै अर्को रमाईलो नृत्यपरक गीत  ‘अंग्रेजी सिकेर’ दर्शक स्रोताहरु माझ ल्याउने अन्तिम तयारीमा छन् ।

अहिलेकी चर्चित गायिका मेलिना राईसँग आफ्नो युगल गायन प्रस्तुत गरेका विजय रुम्बाको नयाँ गीतमा हालका सर्वप्रिय युवा गीतकार डिपी खनालको शब्दरचना, चर्चित सङ्गीतकार शंकर थापा ‘स्माईल’ को सङ्गीत अनि प्रख्यात सङ्गीत संयोजक उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । आर.बी. म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ कार्य सम्पन्न गरिएको यो गीत कुमार के.सी. र अशोक महर्जनले रेकर्डिङ तथा ध्वनि सम्पादन/मुद्रण गरेका छन् ।

‘अंग्रेजी सिकेर’ गीतको शीर्षक आफैंमा रमाईलो अनि गीतको शब्द, सङ्गीत, सङ्गीत संयोजन र गायकी पनि अब्बल रहेको कारण दर्शक – स्रोताहरुले पक्कै पनि मन पराउनुहुने छ भन्ने कुरामा आशावादी रहेको छु’ गायक रुम्बाले म्युजिक डायरीलाई बताए । छिट्टै नै ‘डश म्युजिक नेपाल’ को युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक हुने कुरा समेत गायक रुम्बाले जानकारी गराएका छन् ।