वियोगान्त सङ्ग्रहमा गगन

प्रतिभाशाली युवा गायक गगन सरगम भरखरै अमर प्रेम म्युजिकबाट निम सङ्गीतको एकल सङ्गीतमा एकल स्वरको एल्बम ‘प्रेमको भिखारी’ लिएर आएका छन् l आधुनिक गायनमा राम्रो सम्भावना भएका गगनले यसअघि ०६६ सालमा अमर प्रेम म्युजिकबाट नै एकल-युगल स्वरको पहिलो एल्बम ‘तिम्रो मन’ प्रकाशन गरेका थिए l पहिलो एल्बमबाट टाईटल गीत ‘तिम्रो मनको माझमा’ लगायत ३ वटा गीतको भिडियो निर्माण भएको थियो l राजिव लोहनीको निर्देशनमा निर्मित टाईटल गीतको भिडियोमा गगन स्ययंको साथमा संचिता लुइंटेलले अभिनय गरेकी थिईन् भने युगल स्वरमा रहेको सो गीतमा गायिका अन्जना गुरुङको साथ रहेको थियो l पहिलो एल्बमका गीतबाट सङ्गीत बजारमा राम्रैसंग चिनिएका गगनको टाईटल गीत सो वर्ष आयोजित इमेज र अन्नपूर्ण एफएम म्युजिक अवार्डमा समेत नोमिनेशनमा परेका थिए l प्रसिद्ध सङ्गीत प्रशिक्षक चण्डी प्रसाद काफ्लेसंग शाश्त्रीय सङ्गीतको दिक्षा लिएका गगनले फुटकर रुपमा समेत गरी लगभग ४ दर्जन बढी गीतमा स्वर दिएका छन् l व्यावसायिक र पारिवारिक व्यस्तताका कारण लगभग ९ वर्षको अन्तरालमा दोस्रो एल्बम लिएर आएका गगन भिडियो मोडलका रुपमा समेत परिचित छन् l
‘प्रेमको भिखारी’ एल्बममा निम सङ्गीत, नवराज घिमिरे, लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्दरचनामा ‘उनको यादमा तड्पिएर जिउनु भन्दा, तिमीबिना बाँच्नै सक्दिन, फूल झरेको सम्झ, तिमीले माया मारेपछि र तारिफ कसरी गरूँ तिम्रो’ बोलका ५ वटा गीत रहेका छन् l जसमध्ये टाईटल गीत ‘तिमीबिना’ मा आफ्नो हृदयमा बसेकी मायालुसँग प्रेमको याचना गरिएको छ भने अर्को गीत ‘उनको यादमा तड्पिएर’ मा चाहिं प्रेम-वियोगका पीडाहरु पोखिएका छन् l गीतमा निराशा र विक्षिप्त भावहरु छन् l यसैगरी एल्बमको अर्को गीत ‘फूल झरेको सम्झ’ पनि वियोगान्त भावमै रहेको छ l गीतमा आफ्नो हुन नसकेकी प्रियतमाबाट पाएको तिरस्कार, अपमान र चोटै चोटका अभिव्यक्तिहरु छन् l एल्बमको चौथो गीत ‘तिमीले माया मारेपछि’ मा पनि प्रेमवियोगकै पीडा पोखिएको छ l आफ्नो प्रिय मान्छेले माया मारेपछि, मन अन्तै सारेपछि बाँच्न मन नलागेका पीडादायी कुराहरु गीतमा व्यक्त गरिएका छन् l एल्बमको पाँचौं गीत ‘तारिफ कसरी गरौँ’ अन्य गीत भन्दा फरक भावमा रहेको छ l गीतले कसैको गुण, रुप र सौन्दर्यतामा लट्ठ परेको, मनले एकतर्फी रुपमै आफ्नी राजकुमारी ठानेको कुराहरु व्यक्त गरेको छ l एल्बमका अधिकांश गीत वियोगान्त भावमा भएकोले ‘प्रेमको भिखारी’ लाई एउटा वियोगान्त सङ्ग्रहको रुपमा मूल्यांकन गर्न सकिन्छ l उत्कृष्ठ शब्द-सङ्गीत र मिठासपूर्ण गायकी रहेको यस एल्बमले उदियमान गायक गगन सरगमलाई आधुनिक गायनको क्षेत्रमा राम्रो पहिचान दिने छ भन्ने कुरा अनुमान गर्न सकिन्छ l
-तुलसी गिरी ‘भावुक’