एकैसाथ दुई एल्बममा गायक झुलेन

 

गायक झुलेन बराल एकैसाथ ‘दिक्षा ‘ भाग १ र २ गीति एल्बम लिएर सङ्गीत बजारमा आएका छन् l एउटा एल्बम पहिले नै रिलिजका लागि तयार भएपनि कार्यव्यस्तताका कारण नेपाल आउन नपाएपछि एकैसाथ दुई एल्बम प्रकाशन गर्नुपरेको कुरा विगत १० वर्षदेखि अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दै आएका झुलेनले जानकारी गराए l पहिलो एल्बममा सूर्य मिश्र, जगन्नाथ मिश्र र तारा दिपशली वान्तवाका शब्द तथा डी. बी. गुरुङ, अनिल फागो र एल. बी. गुरुङका सङ्गीतमा ‘जाउँ हिंड खेताला, निर्मोहीको सम्झनामा, हुर्किएको दु:खमा म, संधैभरि र सल्लेरी आज सुसाउन्न रे’ बोलका ५ वटा गीत रहेका छन् भने दोस्रो एल्बम अर्थात ‘दिक्षा-२’ मा डी. आर. अटु, तारा दिपशली वान्तवा, अगम गुरुङ, खेम रिजाल र सूर्य मिश्रका शब्द तथा डी. आर. अटु, सिडी विजय अधिकारी, दिनेश सुब्बा, कालीप्रसाद बास्कोटा र डी.बी गुरुङका सङ्गीतमा ‘औंठी है साटौंला, ए ठूली, बाजेले गाउने पुरानो भाका, मलाई मन पर्यो तिम्रो इशारा, दियो बाली र पूर्णिमाको साँझबाट’ बोलका ६ वटा गीत रहेका छन् l जसमध्ये ‘दिक्षा भाग-१’ मा रहेको युगल गीत ‘जाउँ हिंड खेताला’ मा मेलिना राईले र भाग-२ मा रहेको युगल गीत ‘औंठी है साटौंला’ मा विन्दु राईले झुलेनलाई स्वरमा साथ दिएका छन् l एल्बममा पूर्वेली लोक तथा लोकजुहारी, साँस्कृतिक, आधुनिक र गजलहरु समावेश गरिएका छन् l दुबै एल्बम झुलेनले गत कात्तिक १२ गते काठमाण्डौमा सार्वजनिक गरेका हुन् l यी दुई एल्बम बाहेक पनि केही गीत रेकर्ड भईसकेको र छिट्टै तेस्रो एल्बम पनि प्रकाशन हुने कुरा झुलेनले जानकारी गराएका छन् l ‘धेरै नाम सोचियो तर अर्थ पनि राम्रो भएको र छोरीको नामसँग पनि मिलेको भएर एल्बमको नाम ‘दिक्षा’ राखिएको हो’ उनी भन्छन् l

झापाको दमक स्थाई बसोबास भएका झुलेन पिता तारानिधि बराल र माता तुलसा बरालको परिवारमा जेठो छोरोको रुपमा जन्मिएका थिए l ‘मलाई सम्झना भएसम्म म सानैदेखि भजनमा सरिक हुने गर्दथें l काकाहरु खुबै भजन गाउनुहुन्थ्यो l हतार हतार स्कूलको गृहकार्य सकेर म पनि काकाहरुसँग भजन गाउन जान्थें l रामनवमी, कृष्णाष्टमी, दुर्गा पूजा, अखंडा आदिमा ठूलो कार्यक्रम हुन्थ्यो l त्यस्ता कार्यक्रममा सानैदेखि गाउन र नाल, हार्मोनियम, ढोलक आदि बजाउन पनि तम्सन्थें’ बालापन सम्झंदै झुलेन भन्छन् l

झुलेन खानदानी व्यावसायी हुन् l बुबाआमा उनलाई एक सफल व्यवसायी भएको हेर्न चाहनुहुन्थ्यो l उनले गृहनगर दमक र काठमान्डौमा समेत लामो समय व्यवसाय गरेका छन् l ‘घरमा गीत-सङ्गीतमा लाग्ने माहोल थिएन l दिनभरि पसलमा बस्नुपर्थ्यो l बिहान बिहान रियाज गर्दा घरमा अरुलाई झर्को लाग्ने भएकोले पसल बन्द गरेपछि साथीभाइ भेला भएर पसल पछाडिको ठूलो कोठामा राती अबेरसम्म गाउने-बजाउने गरिन्थ्यो’ सङ्गीतप्रतिको आफ्नो मोह प्रस्ट्याउँदै उनले भने l सुरुमा झुलेन गितारप्रति बढी आकर्षित थिए l त्यो बेला आफूले २ बर्ष गितार सिकेको उनी बताउँछन् l उनी भन्छन्-  ‘अध्ययन र व्यवसायका कारण दैनिक रियाज़मा जान नपाउँदा पनि समय निकालेर साथीहरुसँग रियाज गरिन्थ्यो l सङ्गीत क्षेत्रका अग्रज  सुवास कटुवाल त्यसैगरी दामु भट्टराईसँग पनि सिक्ने गर्दथें l   व्यावसायिक कारणले केही समय भारत बस्दा त्यहाँ पनि मैले सिक्ने मौका पाएको थिएँ l काठमाडौँ गएपछि चाहिं साथीहरुसँग बसेर बजाउने- गाउने गरिन्थ्यो l यस्तै थियो साङ्गीतिक यात्राको सुरुआती कथा’ झुलेन बताउँछन् । सङ्गीतको रियाज गरेका छन् भने बाँकी उनको आफ्नै स्वअभ्यास र प्राकृतिक क्षमता नै हो l उनको दुबै एल्बमका केही गीत भिडियोमा समेत आएका छन् भने केही गीत भिडियो बन्ने क्रममा छन् l  पहिलो म्यूजिक भिडियो “जाउँ हिँड खेताला कान्छी” पार्वती राई र पुष्पल खड्काको मोडलिङ र जीवन शाहीको निर्देशनमा रहेको थियो भने हालै ‘औंठी है साटौंला’ पूर्वेली लोक गीतको भिडियोमा पार्वती राईसँग उनी स्वयंले मोडलिङ समेत गरेका छन् l जुन पार्वतीको निर्देशनमा निर्माण भएको पहिलो भिडियो समेत हो l भ्याएसम्म कर्मथलोमा समेत विभिन्न कार्यक्रमहरुमा सहभागी हुने गरेका झुलेन आत्मविश्वासकासाथ भन्छन् – ‘जीवनका अरु धेरैकुरा त्याग्न सकिएला तर सङ्गीत त्याग्न सकिन्न l