नेपाली सङ्गीतका लेजेण्ड

सिर्जनशील कर्ममा लागेका कुनैपनि व्यक्तिलाई उसको ज्येष्ठता, योग्यता, लोकप्रियता र निरन्तरताको आधारमा सम्मान दिने या कदर गर्ने गरिन्छ l सन्दर्भ हाम्रो गीत-सङ्गीत क्षेत्रको हो l पुराना सर्जक/कलाकार जसलाई हामी ‘लेजेण्ड’ भनेर पनि सम्मान दिन्छौं, सम्मानित व्यक्ति यो शब्दबाट सम्बोधनको लागि उपयुक्त पात्र हो कि हैन भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ l कुनै समयमा लहडले या रहरले सङ्गीत क्षेत्रसँग जोडिन पुगेका, २-४ वटा सिर्जना गरेका या प्रस्तुति दिएका अनि त्यसै उसै गीत चलिपनी हालेका तर निरन्तरता नदिएका सर्जक/कलाकारहरुलाई फगत ज्येष्ठताकै आधारमा महान सम्झनु र लामो समयदेखि जो योग्यता सहित निरन्तर यही कर्ममा समर्पित छ उसलाई पनि हेर्ने दृष्टिकोण एउटै हुनु पक्कै पनि उपयुक्त होईन l यहाँ एक त्यस्ता अग्रज इलामे सङ्गीतकर्मीको बारेमा चर्चा गर्न खोजिएको छ, जो २०३३ सालमा रेडियो नेपालबाट आधुनिक गायनमा स्वर परीक्षा पास गरेपछि आजसम्म निरन्तर कर्मशील रहँदै आएका छन् l
गायक/सङ्गीतकार सूर्य थुलुङको नाम नसुन्ने नेपाली सायदै होलान् l लामो समयदेखि सङ्गीत सिर्जना र लोक तथा आधुनिक गायनमा समानान्तर यात्रा गरिरहेका सर्जक/कलाकार थुलुङले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकै साल रेकर्ड गरेको ‘मागी मीठो खाँदैन यो नेपाली ठीटो’ बोलको पहिलो तथा राष्ट्रिय भावको गीत आजपनि उत्तिकै लोकप्रिय, सान्दर्भिक र स्वाभिमानी छ l के लोक के आधुनिक सबैमा उत्तिकै खुल्ने-सुहाउने गला भएका थुलुङका ‘बादलुको दरबारमा पहाडको मेला, साह्रै पार्यो आज मलाई, माछी मारन हे दाइ हो, स्याङ्जा झरेसी’ लगायतका गीत आजपनि श्रोताले उत्तिकै मन पराएका छन् l मालती मङ्गले र शकुन्तला जस्ता बहुचर्चित एवं ऐतिहासिक गीति नाटकमा नारायणगोपाल र तारादेवी जस्ता शीखर गायक-गायिकाहरुसँग गीत गाएका थुलुङले पछिल्लो पुस्ताकी गायिका श्रेयशी चेम्जोङ लिम्बूसँग समेत स्वर दिएका छन् l लगभग ५ दशक लामो सङ्गीत यात्राका दौरान वरिष्ठदेखि कनिष्ठ पुस्ता सम्मका कलाकारहरुका लागि सङ्गीत सिर्जना र उनीहरुसँग युगल गायनमा सक्रिय रहँदै एउटा समर्पित र अथक यात्रीको रुपमा गौरवमय पहिचान स्थापित गरिसकेका अग्रज सर्जक/कलाकार सूर्य थुलुङ यो बेला आफ्ना केही नयाँ गीत भिडियोमा सार्वजनिक गर्ने तयारीमा समेत रहेका छन् l शान्त डी. गजुरेलको शब्द तथा आफ्नै सङ्गीत/स्वरमा ‘मैले भन्दा माया गर्ने’ { आधुनिक }, दीपक जंग हमालको शब्द तथा आफ्नै सङ्गीत/स्वरमा ‘जीवनभरि परदेशमा सेवा गरें गर्ने बेला’ { आधुनिक }, डा. कृष्णहरि बरालको रचना र आफ्नै सङ्गीत/स्वरमा एकल र माण्डवी त्रिपाठीसँग युगल गरी २ वटा बालगीतका साथै नरेन्द्रनाथ कोईरालाको शब्द र आफ्नै सङ्गीत/स्वरको पुरानो गीत ‘साह्रै पार्यो आज मलाई’ का भिडियो छिट्टै सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको सर्जक/कलाकार थुलुङले जानकारी गराएका छन् l
पूर्व समयमा साझा प्रकाशनमा एकबर्ष, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गायक-कलाकारको रुपमा सातबर्ष र रेडियो नेपालमा १२ वर्ष गरी २० वर्षसम्म जागिरे जीवन बिताएका थुलुङ सङ्गीतबाट कहिल्यै टाढा भने भएका थिएनन् l सङ्गीत महाविद्यालय, झोंछेमा रंगराव कादम्बरीसँग करिव ४ वर्ष शास्त्रीय सङ्गीत सिकेका थुलुङले प्रज्ञा प्रतिष्ठानमा रहँदा अम्बर गुरुङसँग समेत सङ्गीत सिक्ने मौका पाएका थिए l अतिरिक्त समयलाई सदुपयोग गर्दै त्यो बेला विभिन्न स्कूलहरुमा सङ्गीत प्रशिक्षक भएर समेत काम गरेका थुलुङले त्योबेला सक्रिय रहेको ‘हिमालयन कल्चरल ग्रुप’ मा गायकको रुपमा आवद्ध भई होटल सोल्टीमा गीत गाउने काम समेत गरेका थिए l रेडियो नेपालको जागिरे जीवन पश्चात केही बर्ष जापान बसेका थुलुङले त्यहाँ रहँदा समेत नेपाली सङ्गीतको पहिचान र प्रचार-प्रसारको लागि धेरै काम गर्नुका साथै जापानी भाषाका गीत पनि गाउन सिकेका थिए l जापानको ‘सूर्यतर्फ’ नामक साँस्कृतिक संस्थामा आवद्ध रहका थुलुङले सो संस्था मार्फत पनि जापानका धेरै ठाउँमा आयोजित कार्यक्रमहरुमा प्रस्तुति दिएका थिए l तत्कालीन जापानस्थित नेपाली दुतावासको अनुरोधमा नेपाली साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नदेखि लिएर जापान नेपाल एशोसिएसनको अनुरोधमा जापानीहरुलाई नेपाली सङ्गीतको प्रशिक्षण दिनेसम्मका गौरवशाली कामहरु उनीबाट भएका थिए l यतिमात्र नभई थुलुङले सन् १९९७ मा ‘सूर्यतर्फ’ नामक जापानिज साँस्कृतिक समूहका कलाकारहरुलाई नेपालमा बोलाई राष्ट्रिय नाचघरमा ‘दोभान’ नामक साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेका थिए l विदेशमा रहँदा समेत देशकै प्रतिनिधित्व गर्दै नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन अतुलनीय भूमिका निर्वाह गरेका कलाकार/सर्जक सूर्य थुलुङ लामो समयदेखि अनवरत सङ्गीत साधना र सिर्जनामा लाग्ने थोरै सङ्गीतकर्मीहरु मध्येका एक हुन् l जो सही अर्थमा नेपाली सङ्गीतका ‘लेजेण्ड’ सर्जक/कलाकार हुन् l
-तुलसी गिरी ‘भावुक’

video link