फरक सोचका निर्देशक

सफलता मान्छेको काममा भरपर्छ, उसले काममा दिने निरन्तरतामा भरपर्छ, जब कोही मान्छे एउटै काममा निरन्तर आँखा चिम्लिएर लाग्छ, उसले अवश्य सफलता हातपार्न सक्छ । यही निरन्तरताले सफलताको शिखर चुम्न सफल व्यक्ति हुन् – नव ढुंगेल ।

पछिल्लो समयमा सफल निर्देशकको भीडमा आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल उनले क्यमेराको अगाडि एक्शन –कट भन्न थालेको पनि एकदशक पुग्न लागिसक्यो । नयाँ नयाँ प्रयोग गरेर पृथक छवि बनाइसकेका उनले लगभग १०० भन्दा बढी गीतमा निर्देशकको भूमिकामा आफूलाई उभ्याईसकेका छन् । ६० भन्दा बढी बिज्ञापन निर्देशन गरिसकेका उनी आफूलाई आवश्यक पर्ने स्क्रिप्ट [ कथा र डाईलग } लेखनको कामपनि आफैं गर्छन् । कयौं मोडललाई पहिलोपटक ईन्डस्ट्रीमा भित्राउने श्रेय पनि उनलाई जान्छ । उनले संचालन गरेको संस्था आर्टिस्ट नेपालले धेरै कलाकारहरुलाई जन्मपनि दिईसकेको छ ।

नेपाली लोक सङ्गीतमा धेरै नै योगदान दिईसकेका अग्रज लोकश्रष्टा नवीन ढुंगेलका सुपुत्र हुन् निर्देशक नव ढुंगेल । माछी मारन, साईकल सरर, घुम्तीमा भेट भयो, काँचो कटर लगायतका गीतले त्यो बेलाको सांगीतिक माहोलमा हिट भएका नवीन ढुंगेलका कान्छो सुपुत्रको रुपमा जन्म लिएका नव ढुंगेल पारिवारिक साङ्गीतिक वातावरण, बिभिन्न साङ्गीतिक जमघट र घरमा सजिएका बिभिन्न बाजाहरुको धुनले थाहा पाउँदा नपाउँदा नै कलाको रसमा भिजिसकेका थिए ।

यसरी बने निर्देशक

सानोदेखि नै धेरै सङ्गीतकर्मी तथा फिल्मकर्मीहरुसँग निकट रहेका उनले केही गीत गाए र केही गीतमा मोडलिङ पनि गरे । साथीभाइको लहडमा नेपालको पहिलो केवल म्युजिक टेलिभिजन ‘एम च्यानल’ मा संचालकको भूमिका निर्वाह गरेका उनलाई क्यामरा, लाईट र स्टुडियोसँग खेल्ने बानी परिसकेको थियो । पुराना गीतहरु हराउँदै गरेको महसुस गर्न थालेका उनले पुराना गीत तथा पुराना श्रस्टालाई पुनर्जीवित गराउने सोचकासाथ निर्देशन कर्ममा हात हाले । उनी भन्छन्– ‘गीत सुन्ने श्रोताहरु हेर्ने दर्शकमा परिणत हुन थालेपछि हराएका, चर्चित र पुराना गीतलाई अब भिडियोमा ल्याएर संरक्षण गर्नुपर्छ भन्ने सोचले निर्देशनमा होमिएको हुँ र यही कर्मको निरन्तरताले मलाई निर्देशक बनाएको हो’ उनी भन्छन् । कामको कदर सवरूप उनले धेरै अवार्ड तथा सम्मानहरु पनि प्राप्त गरेका छन् ।

निःशुल्क देखि ३ लाखसम्म

उनले म्युजिक भिडियो निर्माणमा आफ्नो कुनै रेट राखेनन् ।  उनी भन्छन्– ‘मैले केही भिडियोमा बिना पारिश्रमिक पनि काम गरेकोछु र केहीमा ३ लाख सम्मको बजेट पनि लिएको छु ।’ बिज्ञापन निर्माणमा भने उनले एउटाको रु.१० लाखसम्म लिएको बताउछन् । सामान्यतया एउटा भिडियो निर्माण गर्न एकहप्ता लाग्ने बताउने ढुंगेलले भिडियो निर्माणको लागि एउटै गीत सयपटक भन्दा बढी सुनेको पनि बताए । उनी भन्छन्- ‘गीतका हरेक बिटहरु याद गर्छु । शब्दहरुलाई प्रिन्ट गरेर हेर्छु । त्यसपछि म्युजिक भिडियोको कन्सेप्ट निकाल्छु । कहिले एकै छिनमा कन्सेप्ट फुर्छ । कहिले महिनौं पनि लाग्छ । कहिले फुर्दै फुर्दैन ।’