५० लाख पुरस्कार रहेको ‘नेपाल लोक स्टार’ को आवेदन खुल्यो

चाहना मिडियाको आयोजनामा सम्पन्न हुन गईरहेको हालसम्मकै सर्वाधिक धनराशी रु. ५० लाख प्रथम पुरस्कार भएको ‘रियालिटी शो’ ‘नेपाल लोक स्टार’ को आवेदन खुला भएको छ l कात्तिक १५ मा पत्रकार सम्मेलन गरी १६ देखि आवेदन खुला गर्ने पूर्व योजना भएपनि विविध कारणवश पत्रकार सम्मेलन आगामी मङ्सिर २६ गतेलाई सरेको हुँदा फारम भने निर्धारित मितिदेखि नै खुला गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष सहदेव कोईरालाले जानकारी गराएका छन् l कोईरालाका अनुसार प्रतिस्पर्धीहरुलाई सहज होस् भनेर पहिलो चरणको छनोट प्रक्रिया ‘नेपाल लोक स्टार’ को एप्स मार्फत गर्न लागिएको छ l जसका लागि इच्छुक कलाकारले एप्स डाउनलोड गरी आवेदन दिनुपर्ने छ र आवेदन स्वीकृत भएपछि एप्स मार्फत नै अडिशन पनि हुने छ l ‘नेपाल लोक स्टार’ लोक भाकामा आधारित गायन प्रतियोगिता हो l
सहदेव कोईरालाले दिएको जानकारी अनुसार प्रतियोगितामा दोस्रो हुनेले रु. २५ लाख र तेस्रो हुनेले रु. १० लाख नगद सहित विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् l वरिष्ठ संगीतज्ञ जयनन्द लामाको संयोजनमा रहेको निर्णायक टोलीले प्रतिस्पर्धीहरुको मूल्यांकन गर्ने छ भने    नेपाल टेलिभिजन र एपी वान टेलिभिजनबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने छ l कार्यक्रमको कूल बजेट १५ -१७ करोड अनुमान गरिएको छ l